राजनीतिसँंगै कृषि व्यवसाय गर्दै वडाध्यक्ष «

राजनीतिसँंगै कृषि व्यवसाय गर्दै वडाध्यक्ष

तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष डिल्ली रावल सक्रिय राजनीतिसंगै व्यावसायिक क्षेत्रमा पनि अब्बल बन्दै गएका छन् । स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका रावलले राजनीतिसंँगै युवा रोजगारी तथा आर्थिक आम्दानी बढाउन व्यवसायलाई सँंगसँगै अघि बढाएका हुन् । उद्यमशिलता, रोजगारी सिर्जना र व्यावसायिकतालाई प्राथमिकता दिने संकल्पका साथ वडाध्यक्षमा निर्वाचित भएका रावलले सुरुवात स्वयंबाटै गरेका छन् ।
युवालाई पनि रोजगारी मिल्ने, आर्थिक आम्दानी पनि हुने उद्देश्यले स्याउ बगैंचा निर्माण, कुखुरापालन लगायतका रोजगारीमूलक कार्यमा वडाध्यक्ष रावल सक्रिय छन् । राजनीतिक हिसाबले निर्वाचन भएदेखि हालसम्म सडक पूर्वाधार, खानेपानी, कृषि पर्यटनलगायतका क्षेत्रको विकास उल्लेखनीय भएको उनी बताउँछन् ।
वडाको सार्वजनिक विकाससंँगै आफ्नो निजी लगानीमा कुखुरापालन, स्याउ बगैंचा निर्माण, हार्डवेयर सञ्चालन गरेर नागरिकलाई सेवासँंगै युवालाई रोजगारी र भविष्यको बलियो सहारासमेत तयार गरेको वडाध्यक्ष रावलले बताए । उनले भने, “अहिले राजनीतिसँंगै व्यवसाय पनि गरिरहेको छु । युवा रोजगारी सिर्जनासँंगै स्थानीय उत्पादन बढाउन र जिल्लामै नमुना कृषि क्रान्ति गर्न जुटेको छु । यसले राम्रै प्रतिफल दिने आशामा छु ।”

एक करोड लगानीमा व्यवसाय
उमेरले ३० पुगेका वडाध्यक्ष डिल्ली रावलले करिब एक करोडको लगानीमा विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । पालिकाकै युवा तथा ऊर्जाशील वडाध्यक्षका रूपमा चिनिने रावलले नाफा कमाउने भन्दा पनि गाउँका बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यले व्यवसाय क्षेत्रमा लगानी गरेको बताउँछन् ।
उनले भने, “अहिले सुरुवाति चरणमै छु । खास्सै युवालाई रोजगारी दिनसकेको छैन । रोजगारी दिने योजना बनाउँदैछु । सबै व्यवसाय आफैले नागरिकको सेवाबाहेकको अन्य समयमा गरिरहेको छु । भविष्यमा आफ्नै निजी व्यवसायमा सयौ युवालाई रोजगारी दिने दृढ संकल्प छ ।”
अहिले करिब ४० लाखभन्दा बढीको लगानीमा बृहत् स्याउ बगैंचा निर्माण गरेका छन् । तातोपानीमै कृषि क्रान्ति सुरु गर्ने लक्ष्यका साथ (स्पर अमेरिकन सुपर चिर र रेड चिप्स) जातका नौ सय बिरुवा रोपेका छन् । घेराबार, सिँचाइ, गडा निर्माण मलजललगायत गरी करिब ४० लाखको लगानीमा बगैचा निर्माण गरेको अध्यक्ष रावलले बताए । उनका अनुसार त्यो बगैचाले निकट भविष्य सयौ युवालाई दीर्घकालीन रोजगारीसँंगै करोडांै आर्थिक भित्रयाउने अपेक्षा छ । स्याउबाट उत्पादन हुने विभिन्न परिकारका लागि पनि उद्योग स्थापनामा जोड दिने लक्ष्य राखेको उनको भनाइ छ ।
आफूले उद्यमशिलता, कृषिकर्म सुरु गरेपछि अरुलाई प्रेरणा मिलोस् भनेर पनि व्यवसायमा खटिएको वडाध्यक्ष रावलको भनाइ छ । उनले भने, “अरुलाई सिकाउने मात्र नभई आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यता छ । आफूले दुःख गर्दा अरुले पनि सिक्छन् । त्यसैले पनि राजनीतिसंँगै उद्यमशिलता, व्यावसायिकता, कृषि कर्ममा जुटिरहेको छु ।”
आर्थिक सामाजिक बाधा अड्चनले समाजको समृद्धिमा केही चुनौती आए पनि सामना गर्दै नागरिकको हितका लागि निरन्तर खटिनेसमेत उनको प्रतिबद्धता छ ।स्रोत सिमित छ । तर पनि अब सडक, खानेपानी, भवनभन्दा रोजगारी सिर्जनाबाहेक अरु विकल्प नरहेको समेत वडाध्यक्ष रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्