शिक्षा राष्ट्रको पुँजी हो: प्रधानमन्त्री

सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई राष्ट्रको पुँजीको रूपमा हेरिने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनस्र्थापनापछि शिक्षा, स्वास्थ्य तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।
सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै उनले विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने धारणा राखे । सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । आफ्नै नेतृत्वको सरकारले गत असोजमा यहाँका थप १५ वटा क्याम्पसलाई समायोजन गरी आंगिक क्याम्पसको रुपमा विकास गरेको उनले बताए।
कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानव अधिकारको अभिन्न अंगको रूपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताए । आधुनिक युगमा शिक्षाको महत्वलाई दर्शाउन अन्य संघसंस्था, अनुसन्धानमुलक निकायसँगको सहकार्य पनि जरुरी रहेको उनले औल्याए ।
सुदूरपश्चिम विश्वविद्यालयले पहिलो मानार्थ विद्यावारिधी उपाधि वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रामप्रसाद पोख्रेललाई प्रदान गरेको छ । नेपाल नेत्रज्योती संघका संरक्षकसमेत रहेका डा. पोख्रेल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं उपाधिबाट सम्मानित छन् ।
२०६७ सालमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल ३ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् । शनिबार दीक्षान्तका लागि २८२ जना विद्यार्थीहरु योग्य रहेपनि १२० जना दीक्षित भएका छन् । विज्ञान, व्यवस्थापन, मानविकी लगायत पाँच संकायका विद्यार्थी दीक्षित भएका हुन् ।