मूल्यांकन नहुँदा लिलाम रोकियो «

मूल्यांकन नहुँदा लिलाम रोकियो

कञ्चनपुरको कञ्चनपुर भन्सार कार्यालयस्थित गड्डाचौकीमा लिलाम गर्न राखिएको दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन । तस्बिर : कारोबार


कञ्चनपुर भन्सार कार्यालयमा लिलामका लागि राखिएका सवारी साधनको मूल्यांकन नहुँदा लिलाम प्रक्रिया रोकिएको छ । लिलामी प्रक्रियाका लागि भन्सार कार्यालयमा राखिएका दुई पांग्रे र चार पांग्रे सवारी साधनको मूल्यांकन नहुँदा लिलाम प्रक्रिया रोकिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयमा राखिएका तीन सय बढी सवारी साधनको लिमामी पक्रिया रोकिएको छ । जसमा आठवटा चार पांग्रे सवारी साधन छन् भने तीन सय बढी दुई पांगे सवारी साधन रहेका छन् ।
“गत वर्ष भन्सार कार्यालयमा जम्मा भएका सवारी साधनका लागि लिलामी प्रक्रिया अगाडि बढाउने प्रयास भएको थियो, कोरोना महामारी प्रभावले लिलामी प्रक्रिया अगाडि बढाउन सकिएन,” कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका सूचना अधिकारी प्रमानन्द जोशीले भने, “बीचमा महामारीको प्रभाव केही कम भएको अवस्थामा कार्यालयले कार्यालयमा जम्मा गरिएका सवारी साधनको लिलामीका लागि मूल्यांकन प्रक्रिया अगाडि बढाएको भए पनि मूल्यांकन गर्ने इन्जिनियरको अभावमा प्रक्रिया रोकिएको छ ।” सवारी साधनको लिलामी गर्नका लागि भन्सार कार्यालयले लिलाम हुने सबै सवारी साधनको मूल्यांकन गर्नुपर्ने हुन्छ ।

मूल्यांकन गर्नुपर्ने सवारी साधनका लागि इन्जिनियरलाई बोलाउँदा पनि भएको इन्जिनियरले समय दिन नसक्दा लिलामी प्रक्रिया रोकिएको सूचना अधिकारी जोशीले बताए । कार्यालयका अनुसार कार्यालयले लिलामी प्रक्रिया अगाडि बढाउन खोजे पनि कोभिड र प्राविधिक समस्याका कारण लिलामी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

मूल्यांकन गर्नका लागि भन्सार कार्यालयलाई यातायात कार्यालयले इन्जिनियर पठाउने गर्दछ । तर इन्जिनियरको जनशक्ति पनि कम भएको र कोभिड महामारीले गर्दा पनि समस्या भएको कार्यालयले जनाएको छ । यस्तै कोभिडको प्रभाव विस्तारै केही कम भएको अवस्थामा अब केही समयमै लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्सार कार्यालयले जनाएको छ ।

यसअघि करिब डेढ वर्ष अगाडि पनि लिलामी गरिएको थियो । यस्तै लिलामी हुने सवारी साधनमध्ये केही नेपाली नम्बरका सवारी साधन छन् भने अधिकांश सवारीसाधन भारतीय नम्बर प्लेटका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्