हवाई यात्रु साढे ५८ लाख «

हवाई यात्रु साढे ५८ लाख

नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक सञ्जीव गौतमले हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिए ।
गौतमका अनुसार आन्तरिकतर्फ २३ लाख ८ सय ५५ हवाई यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रियतर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ । जसमा गत वर्षभन्दा आन्तरिकतर्फ १५.४५ प्रतिशतले वृद्धि भएको छ । भने अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बढेका छन् ।
सन् २०१८ मा गत वर्षभन्दा आन्तरिक वायुयान आगमनतर्फ २.७३ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ २.२० प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय कार्गो ढुवानीतर्फ ७.७५ प्रतिशत र आन्तरिक कार्गो ढुवानीतर्फ ९.१२ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार सन् २०१८ मा यस क्षेत्रको वृद्धिदर ७.२ प्रतिशत छ ।
सेवा र नियामक निकाय छुट्याइने
प्राधिकरण स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणको सेवा र नियामक निकाय छुट्याइने बताए । उनले यसमा कर्मचारीहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै यसमा विरोध नगर्न आग्रह गरेका छन् । हवाई सुरक्षामा कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै मन्त्री अधिकारीले युरोपियन युनियन (ईयु) को कालोसूचिबाट हट्न कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका छन् । प्राधिकरणका कर्मचारीहरूले भने चीन, अमेरिका लगायत देशले पनि दुई निकाय नछुट्याइएको भन्दै निकाय छुट्याउँदैमा हवाई सुरक्षामा सुधार नहुने बताए । यता प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सन् २०१८ विश्वव्यापीरुपमा हवाई सुरक्षाका दृष्टिले चार वर्षयताकै खराब वर्ष रहेको जनाए । नेपालमा पनि ठूला दुर्घटना यसै वर्ष भएका थिए ।

पर्यटक ११ लाख
सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले बढी हो । २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०१८ मा १२ लाख पर्यटकले नेपाल भ्रमण गर्ने प्रक्षेपण गरे पनि यो वर्ष ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
गत डिसेम्बर २९ सम्मको तथ्यांकअनुसार १० लाख ९७ हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालमा दैनिक २ हजारदेखि ३ हजारको संख्यामा पर्यटक भित्रिएकाले ११ लाख हाराहरी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या नेपालको पर्यटक इतिहासमै धेरै हो । २०११ मा नेपाल सरकारले मनाएको पर्यटन वर्षमा राखिएको १० लाख पर्यटकको लक्ष्य ७ वर्षपछि पूरा भएको हो । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए ।
पर्यटन बोर्ड २० औं वर्षमा
नेपाल पर्यटन बोर्ड सोमबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बोर्डले बिभिन्न योजना सार्वजनिक गरेको छ । बोर्डले भ्रमण २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसमेत राखेको छ । बोर्डले प्रबद्र्धनका कार्यक्रम गर्ने घोषणा गरेको छ । भ्रमण वर्ष २०२० प्रवद्र्धनका लागि बोर्डले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्न लागेको जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि बीबीसी, रोयटर्स, सीएनएन, तथा अन्य डिजिटल मिडियासँग सहकार्य गरी मिडिया क्याम्पेन गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
भ्रमण वर्ष २०२० का लागि १० हजार जनशक्ति तयार पार्ने तयारी समेत बोर्डले गरिरहेको छ । नेपाल हिमालका लागि गेटवे हो । हिमालयन ट्राभल मार्टमार्फत हिमाली क्षेत्रको प्रवद्र्धन गरिरहे पनि लुम्बिनी लगायतका गन्तब्यको राम्रोसँग प्रचार–प्रसार हुन नसकेको जोशीले बताए । उनका अनुसार अहिले भुटान र तिब्बतको प्याकेज धेरै बिक्री भइरहेको छ । जोशीका अनुसार नेपालमा हस्पिटालिटी धेरै तर व्यापार कम छ । बोर्डले चार वर्षयता भएका राम्रा कामको समीक्षासमेत गरेको छ ।
बोर्डले आयोजना गरेको कार्यक्रममा नेपाललाई आकर्षक गन्तव्यका रूपमा अगाडि बढाउन पर्यटन बोर्डले उल्लेखनीय भूमिका खेल्दै आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रशंसा गरेका छन् । यो वर्ष नेपालमा १० लाख पर्यटकको आगमन कोसेढुंगा सावित भएको बताउँदै मन्त्री अधिकारीले भने, “नेपालको पर्यटन अब कहिले पछाडि नफर्किने गरी अघि बढ्नेछ । नेपालमा पर्यटन क्षेत्रको भविष्य उज्यालो छ । कसैले अँध्यारो पार्न खोज्यो भने त्यो असम्भव छ ।”

प्रतिक्रिया दिनुहोस्