कांग्रेसले मनायो मेलमिलाप दिवस «

कांग्रेसले मनायो मेलमिलाप दिवस

नेपाली कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशैभरि मनाएको छ । ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुको आतिथ्यतामा जिल्लास्तरीय कार्यक्रम गरी कांग्रेसले मेलमिलाप दिवस मनाएको हो ।
२०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु ८ वर्ष लामो निर्वासनबाट स्वदेश फर्किएका थिए । सोही दिन अर्थात् पुस १६ गतेलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ । सभापति शेरबहादुर देउवाले काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखामा भएको कार्यक्रममा सम्बोधन गरेका थिए । उनीहरुले वीपीले त्यतिबेला लिएको नीतिको सान्दर्भिकता अझै बढेर गएको बताएका छन् ।
०३३ साल पुस १६ गते वीपी नेतृत्वको टोली राष्ट्रियतामाथि खतरा आएको भन्दै स्वदेश फर्किएका थियो । जतिबेला वीपीसहितका नेताहरुलाई फाँसीको सजाय हुनसक्ने अवस्था थियो । तर, त्यसका वास्ता नगरी राजा र राजनीतिक दल नमिले राष्ट्रियता संकटमा पर्ने विश्लेषणसहित वीपी स्वदेश फर्किएका थिए । तर, विमानस्थलबाटै वीपीलाई पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा तत्कालिन सरकारले बन्धक बनाएको थियो ।
२०१७ सालमा विपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्दै एकदलीय पञ्चायती व्यवस्था स्थापना गरिएको थियो । लामो काराबासपछि २०२५ सालमा कांग्रेस नेताहरु भारत प्रवासमा गएका थिए । त्यसको ८ वर्षपछि उनीहरु राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएको दिन पुस १६ लाई कांग्रेसले दिवसका रुपमा मनाउने गर्छ ।

‘हामी मेलमिलाप चाहन्छौं, तर सरकार चाहँदैन’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाएका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस काठमाडौँले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ । त्यसैले कर्मचारी आन्दोलन गर्न बाध्य छन् ।” उनले सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा रहेको टिप्पणी पनि गरे ।
उनले भने, “यसपछि क्रमशः प्रहरी, सेनालगायत राज्यका निकायमा पनि हस्तक्षेप हुनेछ, यही नै अधिनायकवाद सोचको शुरुआत हो ।” यसरी हस्तक्षेप बढ्दै गए जनता आन्दोलन गर्न बाध्य हुने सभापति देउवाको भनाइ थियो । कांग्रेस सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्दै उनले आफूहरुले प्रतिपक्षीका नाममा अनावश्यक मुठभेड गर्न नचाहेको स्पष्ट पारे ।
बिपीले शुरु गरेको मेलमिलापको नीति सदैव लोकतन्त्रका पक्षमा रहेको तथा परिस्थतिअनुसार मेलमिलापको सान्दर्भिकता हिजो, आज र भोलि पनि रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य नरहरि आचार्यले मुुलुकमा यतिखेर पनि सबै राजनीतिक शक्ति तथा सातै प्रदेशबीच एकता र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गरे । पार्टीका युवा नेता गगनकुमार थापाले सत्तापक्ष दलका दुई नेतामध्ये एकलाई संघीयता र अर्काेलाई लोकतन्त्र मन नपरेको आरोप लगाए ।

‘कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज छन्’
गोरखा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको बताए । उनले भने, “अहिले पनि केपी ओली जनवाद भन्दै हुनुहुन्छ अनि प्रचण्ड समाजवाद भन्दै हुनुहुन्छ । उहाँहरु अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।”
वरिष्ठ नेता पौडेलले सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताए । कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण अहिलेको कम्युनिष्ट सरकार गतिहिन बनेको पौडेलको भनाइ थियो । नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको बताउँदै पौडेलले भने, “कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।”
सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डैकाण्डमा फसेको पौडेलले बताए । उनले बूढीगण्डकीमा बिनाप्रतिपर्धा चिनियाँ कम्पनीलाई ठेक्का दिएर भ्रष्टचार भएको जिकिर गरे । ठूला सबै आयोजना प्रधानमन्त्री कार्यालयको मताहतमा राखेर प्रधानमन्त्रीले बोली भन्दा व्यवहार फरक गरेर भ्रष्टचारलाई प्रश्रय दिएको उनले बताए ।
पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको बताउँदै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तिका बीचमा अझै पनि एकता आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्