लोकसेवा सुनिश्चित नभएको भन्दै विद्यार्थी आन्दोलित «

लोकसेवा सुनिश्चित नभएको भन्दै विद्यार्थी आन्दोलित

२०६९ सालदेखि अध्ययन सुरु भएको विषयमा लोकसेवा सुनिश्चित नभएको भन्दै इलाम क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस बीएस्सी हर्टिकल्चर (बागवानी) विषयका विद्यार्थीहरू लोकसेवा सुनिश्चित हुनुपर्ने मागसहित आन्दोलित भएका हुन् । बिएस्सी हर्टिकल्चर (बागवानी) का विद्यार्थीले मापदण्ड पुगेका कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकास) मा लोकसेवाको सुनिश्चितता हुनुपर्ने मागसहित दैनिक आन्दोलित भइरहेका छन् ।


विद्यार्थीहरूले गत आइतबारदेखि एकसाताको रचनात्मक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मापदण्ड पुगेका विषयहरूमा कृषि तथा वन विज्ञान विश्व विद्यालयबाट एमएस्सी एग्रिकल्चर (कृषि) गर्न पाउनुपर्ने माग पनि अघि सारेको विद्यार्थी महिमा गौतमले बताइन् ।
उनीहरूले पोस्टर प्रदर्शनी, बालुवामा पानी खन्याउने, कालो ब्यानरमा आफ्ना मुद्दा लेखेर गेटमा राख्ने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, दिउँसै मैनबत्ती बालेर सम्वन्धित निकायको ध्यानाकर्षण गराउने लगाउतका कार्यक्रम गर्दै आएका छन् । उनीहरूले यो रचनात्मक आन्दोलन भएको बताउँदै आएका छन् ।


यस क्याम्पसमा २०६९ सालदेखी यी विषयहरू अध्यापन हुँदै आएका छन् । तर हालसम्म अध्यन गरेका विषयमा लोकसेवा नखुल्दा अध्यन र लगानी बालुवामा पानी झै भएको उनीहरूको भनाई छ । विद्यार्थीहरू हाल बागबानी संघर्ष समिति नै बनाएर आन्दोलनमा रहेका छन् । पाँच विषयमा अध्यापन भएपनि एउटा विषयमा मात्र लोकसेव खुल्ने गरेको संघर्ष समितिकी संयोजक एलिजा घिमिरेले बताइन् । विद्यार्थीले ४ वर्षसम्म गरेको लगानी पालुवामा पानी खन्याएको जस्तै हुने भएकाले विरोधको स्वरुपमा बालुवामा पानी खन्याउने गरिएको उनको भनाइ छ ।


बागवानीमा बिएस्सी गरेका सबैले बागवानीसँगै कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान, बाली विकासमा पनि लोकसेवा दिन पाउनुपर्ने मुख्य माग रहेको उनीहरूको भनाइ छ । यो समस्या पहिलादेखिकै भए पनि हालसम्म माग सुनुवाइ नभएको उनीहरूको दुखेसो छ । चार ब्याज अध्ययन भइसक्दासमेत कसैले चासो नदेखाएको बिद्यार्थी सुरेन्द्र बिष्टले बताए ।
उनले बागवानी विकास अधिकृत बाहेक अन्य कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा बीएस्सी एग्रिकल्चर वा सो सरह भनेर माग गर्ने गरिएको भएपनि बागवानीमा बिएस्सी पढेका व्यक्तिले फर्म भर्न नपाउने गरेको बताए । लोकसेवाले ती पदमा बीएस्सी एग्रिकल्चर वा बीएस्सी हर्टिकल्चर वा सोरह हुनुपर्छ भन्ने आफ्नो माग भएको बताउँदै आएका छन् ।


कृषि र वागवानीलाई एकै ठाउँमा नराख्दा मेहनत गरेर पढेका विद्यार्थीहरू सरकारी जागिरका लागि अयोग्यजस्तै हुने गरेको उनीहरूको भनाइ छ । कृषि विज्ञान अध्ययन संस्थानमार्फत अनुमति लिएर क्याम्पसले २०६९ सालदेखि बागवानी विज्ञान अध्यापन गराउँदै आएको क्याम्पस प्रशासनले जनाएको छ । तर सो बेला देखी हालसम्म कसैको ध्यान नगएकाले आफूहरू अचम्ममा परेको विद्यार्थीहरू बताउँछन् ।
कृषि तथा पशुविज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हो ।
बागवानी विज्ञान नयाँ बिषय भएकाले लोकसेवा लड्न नपाइएको हो । बागवानी विकास अधिकृतमा प्रतिस्पर्धा गर्न पाएपनि अन्य सेवा समूह ५ वटै विषयमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने विद्यार्थीको माग सुरुबाट नै ठ्दै आएको हो । सुरुबाट नै क्याम्पस प्रमुख परिवर्तन भएकाले विद्यार्थीहरूको माग सम्वन्धित निकायसमक्ष नपुगेको हो ।
उता सम्बोधनका समयमा विश्वविद्यालयको पदाधिकारीसमेत नभएको र डिन कार्यालयको नेतृत्वसमेत हालसम्म नभएकाले मन्त्रालयमा समेत यसको विषयमा छलफलसम्म नभएको हो ।
महेन्द्ररत्न बहुमुखी क्याम्पसमा हालसम्म २२८ जनाले बागवानीमा बीएस्सी गर्दैछन् । १२० जनाले अध्ययन सकेका छन् । त्यस्तै १०८ जना अहिले अध्ययनरत रहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । यस विषयमा लोकसेवा सुनिश्चित नभएकै कारण यस वर्ष क्याम्पसमा बिद्यार्थी भर्ना शून्य नै बन्न पुगेको छ । यस विषय अध्ययनका लागि देशका बिभिन्न क्षेत्रबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् । जिल्लाका विद्यार्थी एकदमै कम मात्रामा यस बिषय अध्ययन गर्ने गरे पनि देशका बिभिन्न ठाउँबाछ आएका बिद्यार्थीले क्याम्पस भरिभराउ हुने गरेको थियो । तर हाल सो विषयमा विद्यार्थी शून्य हुँदा पनि न क्याम्पस प्रशासनले चासो देखायो नत माथिल्लो निकायबाट समस्या सम्बोधन भयो ।


विद्यार्थीहरूले अध्ययनका लागि ५ लाख बुझाएर अध्ययन गर्न आएका छन् । चारवर्षे कार्यक्रमका लागि बिभिन्न ठाउँबाट आएका विद्यार्थीहरूले कम्तीमा पनि १२ लाखमाथि खर्च गरिसकेका हुन्छन् । लोक सेवा सुनिश्चित नहुँदा अध्ययनको समय समेत फोकटमा बितेपछि झनै समस्या भएको उनीहरू बताउँछन् ।
यता क्याम्पस प्रमुख डिएन फुएलले यो विद्यार्थीको माग जाहेज भए पनि यहाँबाट समाधान हुन नसक्ने बताए । उनीहरूको माग मन्त्रालय स्तरबाट नै समाधान हुनुपर्ने उनले बताए । कृषि मन्त्रालय वा क्याबिनेटले नै पास गरे मात्र लोकसेवा सुनिश्चित हुन सक्ने क्याम्पस प्रमुख फुएलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्