शान्ति मिसनमा जान ११ वर्ष पुग्नैपर्ने «

शान्ति मिसनमा जान ११ वर्ष पुग्नैपर्ने

• जर्नेलको कोटा खारेज
• मिसनबाटै भित्रिन्छ करिव १० अर्ब

नेपाली सेनाले अधिकृतबाहेकका कर्मचारी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुन ११ वर्ष सेवा अवधि पूरा भएको हुनैपर्ने व्यवस्था लागू गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जर्नेललगायत वरिष्ठ सैनिक अधिकृतहरुको कोटाअनुसार संख्या छनोट गर्ने यसअघिको परिपाटी खारेज गर्दै मिसनमा सहभागी हुन न्यूनतम सेवाअवधि ११ वर्ष पुग्नै पर्ने प्रावधान ल्याएका हुन् ।२०७१ अघिसम्म पल्टनमा जाने मिसनको अवधि ६ महिना रहेकोमा त्यस यता भने १ वर्ष कायम गरिएको छ । पछिल्लो तथ्यांकअनुसार विभिन्न १२ देशका शान्ति मिसनमा ५ हजार ४ सय २० नेपाली शान्ति सैनिक कार्यरत छन् । त्यसमध्ये १ सय ५३ जना पर्यवेक्षक तथा स्टाफ अधिकृत छन् । मिसनमा सहभागी भएका सेनाबाट सैनिक कल्याणकारी कोषले २२ प्रतिशत सम्म कट्टा गरेर बाँकी रहेको रकम उपलब्ध गराउँदै आएको छ ।कार्यविधिअनुसार न्यूनतम ११ वर्ष पूरा भएको उल्लेख गरिए पनि १४ वर्ष सेवाअवधि पुगेका सैनिक शान्ति मिसनमा पहिलो प्राथमिकतामा पर्नेछन् । यसअघि कनिष्ठलाई मिसन पठाउन जर्नेल र अन्य शक्तिकेन्द्रको सिफारिस हुँदा जेष्ठ सैनिक कर्मचारी उक्त अवसरबाट बञ्चित हुने गरेका थिए ।केही साताअघि जारी गरिएको ‘शान्ति सेना छनौट कार्यविधि–२०७५’ अनुसार पल्टनअन्तर्गत शान्ति मिसनमा जान न्युनतम सेवाअवधि ११ वर्ष पूरा भएको हुनुपर्ने तथा १४ वर्ष पूरा गरेका सैनिक छनोटको पहिलो रोजाइमा पर्ने सेनाले जनाएको छ । सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले अबदेखि पल्टनका रूपमा सहभागी हुने अधिकृतबाहेक पदिक र अन्य दर्जाको शान्ति मिसनमा सहभागीता हुन न्युनतम सेवाअवधि ११ वर्ष पूरा भएको तर १४ वर्ष पुगेकालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले जेष्ठ सैनिक कर्मचारीको योगदानलाई उच्च प्राथमिकतामचा राखेर मिसनको अवसर प्रदान गर्न लागिएको र यसले काममा थप उत्साह थप्ने पनि दावी गरे ।मिसन नेपाली सेनाका अधिकृत, पदिक र अन्य दर्जाका लागि आर्थिक आर्जनको प्रमुख माध्यम पनि हो । पल्टनका रुपमा मिसनमा सहभागी हुने हरेक सैनिक अधिकृतले राष्ट्रसंघबाट वार्षिक १५ देखि १७ लाख रुपैयाँसम्म भत्ता पाउँछन् ।पर्यवेक्षक तथा स्टाफ अधिकृतले भने मिसनबाट वार्षिक ४५ लाख रुपैयाँ भन्दा बढी आर्जन गर्छन् । सन् १९५८ बाट शान्ति सेनामा सहभागी जनाउँदै आएको नेपाली सेनाले यो अवधिमा १ लाख २५ हजार ४७ जनाले सहभागिता जनाइसकेका छन् । ६६ जना घाइते तथा ६३ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्