निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाबाट सतर्क रहौं «

निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाबाट सतर्क रहौं

विगत डेढ महिनाअघि (वैशाख १६) गतेदेखि कोरोनाको दोस्रो लहरको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्ने हेतुले उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । यसरी निषेधाज्ञा गरिएपश्चात् संक्रमणदरमा भने कमी आएको थियो । तर, यहाँ निषेधाज्ञाको समय लम्बिएपश्चात निम्न आय वर्गका तथा अन्य व्यवसायीहरू मारमा पर्नुका साथै जनताहरू रोगबाट नभई भोकबाट मर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना भएकाले असार १५ गतेबाट निषेधाज्ञालाई खुकुलो बनाइएको छ ।
खाद्यान्न पसलहरूलगायत अन्य अत्यावश्यक सेवा सुविधाका पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म र कस्मेटिक, फेन्सीलागायतका अन्य पसलहरू भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । यसको साथसाथै सार्वजनिक यातायातलगायत अन्य सवारी साधनहरूको हितमा भने जोरबिजोर प्रणाली निर्धारण गरिएको छ । सार्वजनिक यातायातले सिट क्षमताभन्दा बढी राख्न नपाउने, गाडीलाई स्यानिटाइजर गर्नुपर्ने, अनिवार्य मास्क र स्यानिटाइजरको व्यवस्थासमेत गरेको हुनुपर्छ । यसरी निषेधाज्ञालाई खुकुलो बनाउँदा बाहिरबाट हेर्दा जनजीवन जति सामान्य देखिन्छ त्यतिनै कोरोना संक्रमण बढ्न सक्ने सम्भावना बढी देखिन्छ । यतिका दिनसम्म व्यापार व्यवसायहरू बन्द भएको हुनाले मानिसहरूले आर्थिक समस्या तथा व्यापार घाटा झेल्नु परेको कारणले गर्दा अबको समयमा मानिसहरू कसरी आफूलाई आर्थिक सम्मुन्नतितर्फ बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर बसेका छन् । यसै सन्दर्भसँग सम्बन्धित, ललितपुरको टीकाथली नगरपालिकामा निषेधाज्ञा खुकुलो भएपश्चात् सम्पूर्ण पसलहरू खोलिएको छ । साँझको ६ बजेसम्म खोलिन पाइने भएकाले साँझको ६ बजेपछि उक्त नगरपालिकाको नगर प्रहरीहरू अब पसल बन्द गर्नु होला भन्दै मोटरबाइकमा राउण्ड लगाउने गर्छन् र त्यसपश्चात् प्रहरीहरू गस्तीबाट फर्केर नआउञ्जेलसम्म व्यापारीहरू सटर तानेरभित्रै लुकेर बस्ने गर्छन् । जब प्रहरीहरू फर्केर गएको थाहा पाउँछन्, त्यसको लगत्तै सम्पूर्ण पसलहरू पुनः खोलेर बस्ने गर्छन् ।
मानिसहरूमा प्रहरीले यो सब हाम्रै लागि र हामीहरू सुरक्षित भएर बस्नका लागि गरिएको हो भन्ने भावना बिस्तारै हट्दै गइसक्यो किनकी निषेधाज्ञाले मानिसहरूमा आर्थिक मात्र नभई मानसिक तनाब पनि उत्पन्न गरेको छ । तर, यसरी सुरक्षाको मापदण्डलाइ बहिस्कार गर्नाले फेरि संक्रमणदर बढाउन सक्छ । अहिले जताततै भीड बढेको छ । मानिसहरूमा अब सधै कोरोना– कोरोना भनेर बसेर पेट तथा आवश्यकता पूरा हँुदैन भन्ने भावनाको विकास भइसकेको छ । अहिले मानिसहरूको लापरवाही बढिरहेको छ । नत मास्क नै लगाउँछन्, नत सामाजिक दूरी नै कायम गरेर बस्छन् । सुरु–सुरुमा जस्तो बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नमा समेत कमि आइसकेको छ । त्यसमाथि सार्वजनिक यातायात सञ्चालनमा आउनाले पनि संक्रमण बढाउन सक्छ । किनभने पसलहरूमा हुने भीड र यातायातमा हुने भीडमा फरक छ । बसको सिटमा दिनभरिमा कैयांै व्यक्तिहरू बसेका हुन्छन्, त्यही सिटमा संक्रमित व्यक्ति पनि बसेको हुन सक्छ । आवश्यकता परेको खण्डमा मात्र घरबाट बाहिर निस्किनै र यातायातका साधनको प्रयोग गरौं । यदि थोरै मात्र हिँडेर आफ्नो गन्तव्यमा पुगिन्छ भने साधनको प्रयोग नगरौं । किनभने हिँड्नु स्वास्थ्यका लागि पनि लाभदायक नै हुन्छ । र, सरकारले जनताको परिस्थिति बुझेर निषेधाज्ञा खुकुलो गरेको हो कोरोना हटेर होइन ।
त्यसमाथि अहिलेको तेस्रो लहरको कोरोनाले बालबालिकालाई बढी प्रभावित गर्ने हुनाले हाम्रो सानोतिनो लापरवाहीले गर्दा घरमा सुरक्षित भएर बसेका नानिबाबुहरूमा समेत खतरा बढ्ने छ । आफ्नै अगाडि हामीले कोरोनाले प्राण त्यागेका व्यक्तिहरूसमेत देखेका छौं । त्यसैले यसलाई सामान्य लिएर लापरबाही नगरौं । आफ्नो कामलाई निरन्तरता दिनुको साथ साथै सम्पूर्ण सुरक्षाको मापदण्डलाई आत्मसाथ गरेर पालना गरौं र स्वयम सतर्कता अपनाऔं ।

प्रतिक्रिया दिनुहोस्