काला हिमालको सम्मुख जलवायु सम्मेलन «

काला हिमालको सम्मुख जलवायु सम्मेलन

दसकअघिसम्म सेताम्मे देखिने उत्तर चुचुरो क्रमशः कालो हुँदै गइरहेको देखिन्छ । हिमाल सम्मुख ठूलो विशाल चौरमा ७८ वटा नेपालको झण्डालाई मेलाजस्तै गरी सजाइएको छ ।
समुद्री सतहबाट २२५० मिटरको ठिही लाग्ने मेलम्ची नगरपालिकाको हिमाली गाउँ गुफा डाँडामा देशभरका समन्वय समितिका प्रमुख, उपप्रमुखसहित जलवायु परिवर्तनका विज्ञहरूले दिनभर छलफल गरे । सम्मेलनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् भने ७७ वटै जिल्लाका प्रमुखहरूले आफ्नो जिल्लाको नाम अंकित झण्डालाई गरे । बाँकी रहेको एउटा ठूलोलाई राष्ट्रपति भण्डारीले गरिन् । उनले सँगै राष्ट्रिय जलवायु सम्मेलनलाई स्मरणीय बनाउन जलवायु परिवर्तनको असर झल्काउने प्रतिमालाई अनावरण गरेकी थिइन् । जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाउनुपर्ने वा जलवायु परिवर्तनले कुनै बेला पृथ्बी नै जोखिममा पर्ने दोहोरो सन्देश दिने प्रकृतिको मानवले पृथ्वीलाई बोकेको झल्को दिने गरी प्रतिमा निर्माण गरिएको थियो ।
जिल्ला समन्वय समिति महासंघको आयोजना तथा समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा विश्वव्यापी समस्याका रूपमा आइरहेको जलवायु परिवर्तनबारे दिनभर छलफल भएको हो । सम्मेलनलाई सफल बनाउन विभिन्न ११ उपसमिति गठन गरिएको छ । सम्मेलनको सोमबार भएको छलफलमा जलवायु विज्ञहरूले मौसम परिवर्तनले भएका र हुनसक्ने असरमाथि कार्यपत्र प्रस्तुत गरे । सम्मेलनको पहिलो दिन ११ विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए भने समापनको दिन बाँकी ११ विज्ञले प्रस्तुत गर्नेछन् । मंगलबारसम्म चल्ने सम्मेलन सिन्धुपाल्चोक घोषणापत्र जारी गरेर समापन गरिने कार्यक्रम छ ।
कार्वन उत्सर्जन गर्ने मुलुकहरूका कारण नेपाल जस्तो हरित देश मारमा परेकाले औधोगिक मुलुकलाई शुल्क तिर्न दबाब दिइनेछ उद्धेश्यका साथ सम्मेलन आयोजना गरिएको हो । स्थानीय तहमा जलवायु अनुकुलनसम्बन्धी नीति निर्माणमा सघाउ पु¥याउनु पनि सम्मेलनले विशेष भूमिका निर्वाह गर्ने हुँदा यो सम्मेलन उपलब्धीमूलक हुने सम्मेलन मूल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । सम्मेलनपछि जारी हुने घोषणापत्रले जलवायु परिवर्तन कम गर्न विशेष सन्देश प्रवाह गर्ने विश्वास लिएको उनले बताए ।
पर्यटकीयस्थल गुफाडाँडा आफैमा जलवायु परिवर्तनको मार खेपेको ठाउँ हो । तीन सय ६० डिग्री कोणबाट जुगल हिमाललाई नियाल्न सकिन्छ । जुगल हिमालसहित गुफाडाँडाबाट हिउँ रित्तिदै गएका दोर्जे लाक्पा र लाङटाङ हिमशृङ्खला पनि देख्न सकिन्छ । सिन्धुपाल्चोकको अलावा विभिन्न जिल्लाका हिमालमा जलवायु परिवर्तनले पारेको असर देखाउन पनि गुफाडाँडा उपयुक्त भएकाले गुफाडाँडालाई सम्मेलनस्थल रोजिएको हो ।
सम्मेलनमा गुराँस हिमाल काला बन्दै गएकासहित फुल्ने मौसम परिवर्तन हुनु, बाढी, पहिरोलगायत विपद बढ्नु, संक्रमित रोगहरू बढ्दै गएकोबारे छलफल गरिएको थियो । जलवायु परिवर्तनकै कारण क्रमशः काला बन्दै गरेका हिमशृङ्खलाकै सम्मुख पर्ने स्थानमा सम्मेलन गरिदाँ जालवायुले गर्ने असरबारे स्थानीय, प्रतिनिधि स्पष्ट हुने तामाङले बताए । जलवायुकै कारण गुफाडाँडामा १६ वर्षअघि देखि हिउँ परेको छैन । स्थानीय सेरापदोर्जे तामाङले १६ वर्षअघि चार फिटसम्म हिउँ परेको अनुभव सुनाए ।
‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासाथ आयोजना भइरहेको हो । सिन्धुपाल्चोकबाट संघीय र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद, यहाँका १२ वटै स्थानीय तहका प्रमुख-अध्यक्षसमेत सम्मेलनमा सहभागी छन् ।

किशोर बुढाथोकी-प्रगति ढकाल

प्रतिक्रिया दिनुहोस्