असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेको प्रस्ताव

नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरेका छन् । उनले पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १० औँ महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था भएअनुसार असारभित्रमा पार्टी सदस्यता नवीकरण गनुपर्ने प्रस्ताव पेश गरेका हुन् ।
यस्तै साउन २५ गतेभित्र विधान महाधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको छ । विधान महाविधेशनका लागि असार २५ गतेभित्र प्रदेश, जिल्ला, स्थानीय तहमा विधान संशोधनका लागि पठाइसक्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । यस्तै बैठकमा महासचिव पोखरेलले भदौं ५ गते वडा अधिवेशन र भदौ १५ स्थानीय तहको अधिवेशन गर्न प्रस्ताव पेश गरेका छन् ।
पार्टीका ३२ विभागलाई चाँडै नै पूर्णता दिन निर्देशन दिइएको छ । महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै सर्वोच्च अदालतले पार्टी पहिल्यैकै अवस्थामा पु¥याएपछि आयोजक कमिटिका चारवटा बैठक अन्तरपार्टी निर्देशनअनुसार भएको जानकारी दिए । यसबीचमा १० वटा स्थायी कमिटी बैठक भएको थियो । यस्तै महासचिवको प्रस्तावमाथि केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ ।
बैठक शुक्रबारदेखि सुरु भएको हो । विधान महाधिवेशन गर्ने निर्णयवरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट एमाले अध्यक्ष केपी ओली समूहले विधान महाधिवेशनको मिति तोकेको छ ।२५–२७ साउनका लागि विधान महाधिवेशन गर्ने निर्णय गरिएको हो । नवौँ महाधिवेशनबाट पारित एमालेको विधानको धारा १३ (क) मा विधान महाधिवेशनबारे उल्लेख छ ।
एक राष्ट्रिय महाधिवेशनदेखि अर्को महाधिवेशनबीच विधान महाधिवेशन गर्ने उल्लेख छ । केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्ने परिकल्पना विधानले गरेको छ ।यसअघि ओली पक्षले एकपक्षीय रूपमा पार्टी नेताहरूको उमेर हदसम्बन्धी व्यवस्था संशोधन गर्दै हटाएको थियो। उक्त निर्णय पनि विधान महाधिवेशनबाट अनुमोदन गरिने सम्भावना रहेको एक एमाले नेताले बताए ।
विधान महाधिवेशनका लागि अध्यक्ष ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले सांगठनिक, विष्णु पौडेलले विधान संशोधन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन तयार पार्ने जिम्मा पाएका छन् ।यस्तै, पार्टीको दशौँ महाधिवेशन वैशाख ०७९ मा गर्ने प्रस्ताव महासचिव पोखरेलले केन्द्रीय कमिटीमा पेश गरेका छन् । यसअघि २–६ मंसिरमा दशौं महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।