सहकारी व्यवसायमा बाधा पु-याउने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ «

सहकारी व्यवसायमा बाधा पु-याउने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिशार आयोजना गरेको कार्यक्रममा सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने उनले बताए । “सहकारी व्यवसायलाई बाधा पु-याउने ४७ वटा ऐनहरु सहकारीमैत्री बनाउन आफ्नो तहबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु,” उनले भने, “राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं ।”
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले ग्रामीण क्षेत्रमा अझै सहकारी विस्तार आवश्यक रहेको बताउँदै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेको ग्रामीण क्षेत्रमा सहकारी संस्था विस्तार गर्नुपर्ने बताए । सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको बताउँदै सचिव पाण्डेले सहकारीहरुले गरेको कमजोरीको रिपोर्ट मन्त्रालयसम्म आउने गरेको उल्लेख गरे ।
जुलाईको पहिलो शनिबार विश्वभरि नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । कोरोना महामारीबाट पुनरुत्थान गर्नका लागि सहकारीको भूमिका र योगदानको विषयलाई महत्व दिँदै यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार
यसैबीच, दिपकप्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गरेको छ । महासंघले प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कारको घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार वितरण गर्ने गर्दछ । यसै सन्दर्भमा शनिबार महासंघले बास्कोटालाई सम्मान गरेको हो ।
त्यस्तै उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट जिल्ला सहकारी संघ चितवन पुरस्कृत भएको छ । यो पुरस्कार सहकारी संघहरुमध्येबाट एउटालाई दिने गरिन्छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७७ बाट ७ वटै प्रदेशबाट एक-एक वटा उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको छ ।
त्यसरी पुरस्कृत हुने सहकारी संस्थाहरुमा प्रदेश नं.१ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरी पुरस्कृत भयो । प्रदेश नं.२ बाट त्रियुगा सहकारी संस्था लि फत्तेपुर सप्तरी, बागमती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था धादिङ पुरस्कृत भयो । गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादक सहकारी संस्था तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. मुगु रहेका छन् ।
यसैगरी यस वर्षको ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७७’ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा कुमारी वाइबा पुरस्कृत भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्