बाख्रा वितरण होइन, खोर सुधार «

बाख्रा वितरण होइन, खोर सुधार

रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिकाको हिले गाउँ भौगोलिक हिसाबले ज्यादै जटिल तथा पानीको उपलब्धताका हिसाबले दयनीय अवस्थामा रहेको छ । विगत केही वर्षयता जलवायु परिवर्तनका असर देखिन लागेको स्थानीयको अनुभव छ । प्रमुख पेसा कृषि रहेका गाउँलेहरू खडेरी, मुहान सुक्ने, कृषिबालीमा रोगकीराजस्ता कारणले कृषि उपजमा कमी आएको बताउँछन् ।
सामुदायिक वनमा प्रशस्त मात्रामा घाँस भएकाले बाख्रापालन यहाँका किसानका लागि प्रमुख आय–आर्जनको स्रोत रहँदै आएको छ । बिस्तारै उन्नत जातका बाख्रा भिœयाउन लागेका स्थानीयको बाख्राको खोर भने परम्परागत नै छ । आफू बस्ने घर नै खोरका रूपमा प्रयोग हुँदै आएको छ, जसले मानव स्वास्थ्यमा असर त पर्छ नै, जमिनमा बस्ने तथा दिसा–पिसाब पनि नतर्कनाले बाख्राको स्वास्थ्यमा पनि असर गर्छ । यसले बाख्रालाई विभिन्न रोग लाग्ने र उत्पादन पनि त्यति राम्रो हँुदैन । घरबाहिर राम्रो खोर नहुने समस्या रहेकाले स्थानीयले राम्रो लाभ लिन सकिरहेका छैनन् । तर, जलवायु परिवर्तन अनुकूलनका लागि गरिब तथा साना किसानलाई सहयोग गर्न सञ्चालित पहाडी साना किसानका लागि अनुकूलन आयोजना रोल्पाको अग्रसरतामा करिब एक वर्ष अघिदेखि यहाँका खोर सुधार गर्ने कार्यक्रम सुरु गरिएको छ । सुरुमा खोर निर्माण गर्ने त परै जाओस्, घरभित्र बाख्रा मानिससँगै राख्नु हुँदैन भनी बुझाउनसमेत गाह्रो परेको थियो । वडापालिका तथा स्थानीय सामुदायिक वनको सहयोगमा वनमा रहेका कुकाठबाट खोर निर्माण सुरु भएको थियो । आयोजनाका प्राविधिकको सल्लाहमा खोरको निर्माण भएको थियो, जसले स्तरीय खोर निर्माण भएका थिए । खोरमा बाख्रा सारेलगत्तै दुई महिनादेखि नै सकारात्मक परिवर्तन देखिन लागेको स्थानीय बाख्रापालक छविलाल पुरी बताउँछन् । सुधारिएको खोरले बाख्रा उत्पादनमा मात्र सकारात्मक परिवर्तन ल्याएन, बाख्राको पिसाब तथा बड्कौंलाको राम्रो व्यस्थापन गरी मलका रूपमा प्रयोग गर्नाले तरकारी खेतीका लागि अति नै सजिलो भएको छ, जसबाट केही कृषकले आर्थिकोपार्जन गरिरहेका छन् । बधुवा बाख्रापालन गर्न प्रेरित गरिरहेको आयोजनाले सो कार्यबाट वन–जंगलको गुणस्तर सुधार गर्न पनि सहयोग गरिरहेको छ ।
अहिले हिले पुग्ने जोसुकै पनि गाउँलेको बाख्राको खोर देखेर अचम्म मान्छन् । निकै रमाइलो उक्त गाउँमा सुधारिएको खोरले पनि झन् आकर्षण थपेको छ । सबै घरमा सुधारिएको खोर देख्दा त्यो यहाँको नियम नै हो कि भन्ने भानसमेत पर्छ ।
गत वर्ष सो गाउँमा ३१ घरधुरीले खोर निर्माण गरकोमा अहिले थप ४४ घरधुरीले सुधारिएको खोर निर्माण गर्न लागिरहेका छन् । गत वर्ष मात्र रोल्पाका ४ गाउँपालिकाका ५ वडा गरेर ३ सय ६३ घरधुरीमा सुधारिएको बाख्राको खोर निर्माण तथा डाले घास वितरण सम्पन्न भएको सो आयोजनाका जिल्ला आयोजना संयोजक रामबालक यादव बताउँछन् । जलवायु परिवर्तनका असर प्रत्यक्ष रूपमा किसानका उत्पादनमा देखिन लागेको अवस्थामा सुधारिएको खोरसाहितको बाख्रापालनले दैनिक जीविकोपार्जन तथा आर्थिक अवस्था सुधार ल्याउँदै गर्दा स्थानीयवासीलाई सो क्रियाकलापले जलवायु परिवर्तन समानुकूलनतर्फ उन्मुख गराउँदै गरेको आयोजनाका स्थानीय अनुकूलन योजना संयोजक वासुदेव पौडेल बताउँछन् । कृषकका आवश्यकता तथा रोजाइमा विभिन्न ठाउँमा विभिन्न अनुकूलनका काम भइरहेको, तर यो ठाउँ बाख्रापालनका लागि उपयुक्त भएकाले सो क्रियाकलाप सञ्चालन गरेको पनि उनले बताए । आयोजनाले बाख्राको खोर सुधार गर्न मात्र सहयोग नगरेर प्रत्येक बाख्रा पालकलाई सीप, ज्ञान तथा डाले घाँससमेत दिएर सो क्रियाकलापको दिगोपनाको सुनिश्चितता गरेको साथै डाले घाँसले हरियाली कायम राख्न, वनसँगको निर्भरता घटाउनुका साथै कार्बनडाइअक्साइड शोषणमा सहयोग पु¥याउने सुनिल स्मृति गाउँपालिका प्रमुख गुनेन्द्र घर्तीले बताए । आगामी वर्ष सो क्षेत्रलाई उन्नत बाख्रापालनको पकेट क्षेत्र बनाउने तथा बजारको पनि उचित व्यवस्था गरिने उनले बताए । एकातिर जलवायु परिवर्तन र यसको असर, अर्कातर्फ विकास निर्माणको अपरिहार्यता— यो अमेलको मिलन बिन्दु नै अनुकूलनका क्रियाकलाप रहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बूढा बताउँछन् । हाल पोल्यान्डमा सञ्चालित २४ औं कोप सम्मेलन २०१८ को स्मरण गराउँदै जलवायु परिवर्तनका असर स्थानीय स्तरमा पर्ने हुनाले गरिब तथा ससाना किसानका लागि फाइदा पुग्ने क्रियाकलापहरू सञ्चालन हुनुपर्ने भन्दै आयोजनाका क्रियाकलापप्रति खुसी र उत्साहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्