बाँझो जमिनबाट लाखौं आम्दानी «

बाँझो जमिनबाट लाखौं आम्दानी

सिन्धुली-सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाहीका समर लामा व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् । गत वर्षबाट व्यवसाय सुरु गरेका लामाको खोरमा अहिले खपारी जातका ११० वटा बाख्रा छन् ।
विदेशमा १० वर्ष काम गरेर फर्किएका लामा विदेशको अनुभव आफ्नै गाउँमा सदुपोग गर्दै छन् । भौलिक हिसाबले पनि बाख्रा पालनबाट फाइदा हुने देखेपछि व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेको उनले बताए । झण्डै १५ लाख रुपैयाँ बाख्राको खोर, चरिचरण क्षेत्र, आहारामा लगानी गरेको छु । उनले भने, “मेरो जग्गा जत्ति सबै बाँझै थियो । त्यही खेतमा चरिचरणका लागि बेरा लगाएर घाँस लगाएको छु ।” पहिले पहिले खेती गर्दा मिहेनत धेरै गर्नुपर्ने उत्पादन कम हुने भएपछि हामीले खेती नै गर्न छाडेका थियौं । बाँझो जमिनमा घाँसखेती गरेर बाख्रापालन सुरु गरे उनले भने ।
अहिले उनीसँगै परिवारका अन्य सदस्य र एकजना स्यानीय युवा पनि सँगसँगै खट्छन् । एक जनाले मात्र भ्याइँदैन, बाख्रा धेरै छ । लामाले भने, “हामी सबै जना मिलेर स्याहार गर्छाैं, एक्लो प्रयासले मात्र केही हुँदैन ।” भएका जनशक्तिलाई पनि काम गर्न भ्याइनभ्याई भएपछि उनले ट्याक्टर किनेका छन् । घाँस बोकेर ल्याउँदा समय धेरै लाग्ने र घाँस बोक्न मान्छे पनि नपाइने भएकाले उनले दुईवटा ट्याक्टर किनेको बताए । उनी भन्छन्, “घाँस बोकेर सम्भव नहुने रैछ । अहिले यही दुईवटा ट्याक्टरबाट घाँस ल्याछु । समयको पनि बचत भएको छ ।”
आफ्नै ठाउँमा बसेर काम गरेर यसबाट पनि नाम र दाम दुवै कमाउन सकिने उनको भनाइ छ । सही ठाउँमा लगानी गरे पनि काम गर्ने मान्छे भने भेटाउनै मुस्किल परेको उनले बताए । राम्रो तलब सेवा सुविधा दिन्छु भन्दा पनि काम गर्ने मान्छे भेटिँदैन । उनले गुनासो गर्दै भने, “हाम्रो समाजले अझै पनि कृषि पेशालाई सम्मान गर्न सकेकै छैन । ट्याक्टरमा काम गर्छौं भन्दा मान्न तयार तर बाख्रा हेर्छाैं भन्दा नाक खुम्च्याउछन् ।” मिहेनत गर्ने हो भने बाख्रा पालनबाट पनि राम्रो आम्दानी गर्न सकिने भन्दै उनले उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको बताए । नगरपालिकाका विभिन्न वडा तथा जिल्लामै पनि बजार, मेला लाग्छ । व्यापारीहरू बाख्रा किन्न घरमै आउँछन् । उनले भने, “खसीको माग धेरै छ, चलेकै भाँउ दिएर लान्छन्, कहिलेसम्म बजारमा लैजानु परेको छैन ।”
बाख्रा पालनबाट महिनामै लाखौँं रुपैयाँ आम्दानी गर्न सकिने लामाले बताए । व्यवसायबाट राम्रो आम्दानी भएपछि घर परिवार चलाउन सजिलो भएको उनले सुनाए । श्रम गरे आफ्नै ठाउँमा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका लामा अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । आफ्नै ठाउँमा केही गरी आत्मनिर्भर बन्न चाहनेका लागि बाख्रापालन राम्रो माध्याम बन्ने उनले बताए । कामलाई ठूलो–सानो भनेर वर्गीकरण नगरी आत्मनिर्भर बन्ने तर्फ सोच्ने हो भने गाउँमै मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्