भक्तपुर नगरपालिकाको बजेट पारित «

भक्तपुर नगरपालिकाको बजेट पारित

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १०औं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आव ०७८/७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको छ ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाका लागि एक अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा कोभिड–१९ ले असर पारेको विषम् परिस्थितिलाई ध्यानमा राखी स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको थियो । बजेटले ख्वप अस्पतालमार्फत जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने जनताको सहयोगमा स्थापित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भक्तपुरका जनतालाई एक वर्षसम्म निःशुल्क र नगर बाहिरका लागि न्यूनतम शुल्क लिएर वितरण गर्ने निर्णय गरेको छ ।


सभामार्फत नगरप्रमुख प्रजापतिले चिनियाँ कम्युनिष्ट पार्टीको १००औं स्थापना दिवसको अवसरमा चीनका जनता र कम्युनिष्टप्रति शुभकामना व्यक्त गरे । संसारका राजनीतिक दलहरूको निम्ति समाजवादी देश चीन सफल उदाहरण बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले पश्चिमा राजनीतिक पार्टीको तुलनामा चिनिया कम्युष्टि पार्टीको सदस्यताको ढाँचा, सांगठनिक संरचना, सञ्चालन विधि फरक भएको र संसारका सबै देशसँग आपसी सम्बन्ध कायम र विकासमा सँगसँगै अगाडि बढ्न चीन प्रतिबद्ध रहेको बताए ।

उनले भने, “राजनीतिक पार्टी विचार र सिद्धान्तले ठूलो हुन्छ । नेपाल मजदुर किसान पार्टी आफ्नो सिद्धान्त र विचारमा अडिग भएकै कारण आज नेपाली जनताले मन पराएको पार्टीको रूपमा स्थापित छ ।”
आव ०७८÷७९ को बजेटबारे व्यक्त जिज्ञासामाथि प्रष्ट पार्दै नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको बजेट विनियोजन नगरको आवश्यकताअनुरुप भएको बताइन् । यसअघि बजेटसम्बन्धी छलफलमा सभासद्हरूले बजेटमा सुधार गर्न विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्