वनमाराघारीबाट हरित गाउँ बन्यो सिरेटार «

वनमाराघारीबाट हरित गाउँ बन्यो सिरेटार

उदयपुर-उनन्चालीस वर्ष अगाडिसम्म उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुची बजारनजिकै रहेको सिरेटारमा दिउँसै स्याल कराउँथ्यो । भिरालो परेको चट्टाने जमिनमा स्याल लुक्ने वनमाराको घारीबाहेक कुनै बोट बिरुवा थिएनन् । खान र सिँचाइका लागि पानी थिएन । खेतिपातीका नाममा सालमा एकपटक गहत छर्नेबाहेक कुनै काम हुँदैनथ्यो ।
समयको परिवर्तनसँगै अहिले सिरेटार हरित गाउँ बनेको छ । गाउँका सिरान र बीच भागमा रहेका दुईवटा कुलोमा बाह्रै महिना छङछङ पानी बगिरहन्छ । सबै घरका ग्वालीमा ५० देखि ८० वटासम्म खसीबाख्रा बाँधिएका छन् । घर करेसा र आँगनबाहेक बाँकी सबै जमिनमा तरकारी खेती लगाइएको छ । घरभन्दा अग्ला लिची, आँप, कटहरलगायतका फलफूल र विभिन्न डालेघाँसका रूखले गाउँ नै लोभलाग्दो भएको छ । 
२०३५ सालमा समुदायकै अगुवा जीतुहर्क तामाङको नेतृत्वमा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तत्कालीन इनामे गाउँ पञ्चायतबाट करिब ३० घर तामाङ बसाइँ सरेर यहाँ आएका थिए । त्यसपछिको लगातारको मिहिनेतका कारण अहिले सिरेटार र तामाङ परिवार दुवैको काँचुली फेरिएको हो । 
“वनमारा फाँड्नमात्रै १५ दिन लाग्यो,” सुरुका दिन सम्झँदै ७५ वर्षीय जीतुहर्कले भने, “त्यसपछि आँप, लिची, कटहरलगायतका फलफूल र डालेघाँसका बिरुवा रोप्यौं ।”  छौडियाखोला र गैडेखोलाबाट खानेपानी र सिँचाइका लागि सबै गाउँले मिलेर कुलो खनेपछि सिरेटारमा बिस्तारै हरियाली छिरेको उनले बताए ।
सिरेटारमा बसोबास गर्ने प्रत्येक घरका ४० देखि १ सय २० वटासम्म लिची, आँप, कटहर, सुन्तला कागतीलगायतका फलफूलका रुख छन् । खसीबाख्रालाई खुवाउने डालेघाँस खोज्न अन्त कतै जानु पर्दैन । बन्दाकोबी, फूलकोबी, टमाटर, फर्सी, काँक्रो, घिरौंला, चुच्चेकरेलाजस्ता तरकारी मात्रै बेचेर सालमा १ लाख रुपैयाँ आम्दानी नगर्ने कुनै घर छैन । “गाउँसँगै हाम्रो पनि काँचुली फेरियो,” १८ वटा एकैनासका बाख्राका पाठालाई खोले खुवाइरहेकी ६० वर्षीया झुमाले भनिन्, “तरकारी र फलफूल बेचेरमात्रै वार्षिक झण्डै ५ लाख रुपैयाँ आम्दानी हुन्छ ।” उनका ३९ माउ बाख्रा र १८ वटा खसीबोका छन् । “सुरुसुरुमा बेच्न समस्या हुन्थ्यो,” स्थानीय रीता तामाङ भन्छिन्, “तर, अहिले व्यापारीहरू यहीँ खरिद गर्न आउँछन् ।” खसीबोका, तरकारी र फलफूल किन्नका लागि व्यापारी गाउँमै आउने भएकाले बजारसम्म लैजाने झन्झट नरहेको उनको भनाइ छ  ।“
सबैभन्दा ठूलो कुरा मिहिनेत नै रहेछ,” बन्दाकोबी गोडिरहेका जीतुहर्कले भने, “स्याल लुक्ने वनमारा घारीमात्रै रहेको यो पाखो यस्तो होला भनेर म आफैंलाई विश्वास थिएन ।” सिरेटारले दिएको आम्दानीले गाउँका प्रायः सबैले नजिकैको मुर्कुची र सदरमुकाम गाईघाट बजारमा घरघडेरी किनेका छन् । परिवारका केही सदस्य भने बजारमा बसेर व्यापार गर्छन् । 

 

प्रतिक्रिया दिनुहोस्