आँखा अस्पताललाई जापानी सहयोग «

आँखा अस्पताललाई जापानी सहयोग

उदयपुर- जापान सरकारले उदयपुर सदरमुकाम गाईघाटमा निर्माण भइरहेको आँखा अस्पताल भवनलाई थप सुविधा सम्पन्न बनाउन ९० लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल नेत्रज्योति सँघ उदयपुरका अध्यक्ष भागवत राउतबीच रकम उपलब्ध गराउने सम्झौता पत्रमा शुक्रबार जापानी दूतावासमा हस्ताक्षर भएको हो । आइतबार पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष राउतले जापानी दूतावासमा रकम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी गराउँदै प्राप्त रकमले निर्माणाधीन भवन पूरा गरी यसलाई थप सुविधा सम्पन्न बनाइने बताए । “यो रकमले आँखा अस्पतालको निर्माणाधीन भवन सम्पन्न गरी यसलाई थप सुविधा सम्पन्न बनाउने तयारी गरेका छौं,” अध्यक्ष राउतले भने, “अप्रेसनसहितको सेवा विस्तार गर्ने हाम्रो लक्ष्य छ ।” त्रियुगा नगरपालिकाको भोगाधिकार रहेको त्रियुगा नगरपालिका–१० मा १० कठ्ठा क्षेत्रफल भएको जमिनमा ३ तले पक्की भवन निर्माण भइरहेको उनले बताए ।
२०६५ सालदेखि उदयपुर जिल्लाका साथै खोटाङ, ओखलढुंगा र भोजपुर जिल्लाका आँखा रोगीको प्राथमिक उपचार गर्दै आएको यस आँखा अस्पतालमा भवन निर्माण सम्पन्न भएपछि अप्रेसनको समेत व्यवस्था हुनेछ । हालसम्म १ लाख २६ हजार ८ सय ३२ जना आँखा रोगीको उपचार गरिसकिएको नेपाल नेत्रज्योति सँघ उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्