लमजुङमा आजदेखि लकडाउन सहज «

लमजुङमा आजदेखि लकडाउन सहज


दोस्रो लहरको कोरोना भाइरस संक्रमण जोखिमसँगै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाआज (शुक्रबार) देखि खुकुलो हुने भएको छ । जिल्लाको भीड व्यवस्थापन समिति लमजुङको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निषेधाज्ञा केही सहज गर्ने निर्णय गरेको हो ।


बैठकले शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक यातायात, होटल तथा अन्य व्यवसायहरूमा केही खुल्ला गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्दै चल्न दिने भएको छ । यद्यपि सार्वजनिक सवारीमा सिट क्षमताको आधा यात्रु रहने गरी जोर बिजोर आधारमा मात्रै सवारी साधन चल्नपाउने भएका हुन् ।

सो बाहेक साविककै निर्णयअनुसार एम्बुलेन्स, बिरामी बोकेका गाडि, पशुपन्छीका दाना बोकेका गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन, निजी सवारी साधन र अनुमतिप्राप्त साधन भने निर्वाध रुपमा चल्न पाउने भएका छन् । जिल्ला बाहिरबाट आउने निर्माण सामग्री बोक्ने सावरी साधन तथा खाद्यान्न, दूध बोक्ने ट्यांकर र फलफूल ढुवानीका साधनहरू पनि निर्वाध रूपमा चल्न पाउने भएका छन् ।


बैठकले यसअघिकै निर्णय बमोजिम पेट्रोलपम्म, ग्यास डिपो, औषधीपसल पूर्ण रुपमा खोल्ने निर्णय गरेको छ भने जिमखाना, दोहोरी साँझ, सैलुन, सिनेमाहल र ब्युटिपार्लर बाहेकका अन्य पसलहरू बिहान ६ बजेबाट दिउँसो २ बजेसम्म मात्रै खोल्ने तर होटेल तथा रेष्टुरेन्टले भने साँझ ६ बजेसम्म टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउने लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।


जिल्लाभित्र कोभिड संक्रमणदरमा केही कमी आउँदै गएकाले आम जनसमुदायको सुविधाका लागि बैंक, वित्तिय संस्थातथा सहकारी संस्थाहरू प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय भएको छ । जिल्लामा रहेका सहकारी संस्थाहरूको हकमा भने बजार प्रतिनिधि घरघरमा गई रकम संकलन गर्न नपाउने निर्णय भएको प्रजिअ लुइँटेलले बताए ।

बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक संस्थाहरू अझै एक साताका ला िभौतिक रूपमा उपस्थित भै सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । चालू वर्षको शैक्षिक सत्र सुरु भइसकेकाले सूचना प्रविधिलगायतका वैकल्पिक उपायहरू अपनाइ भर्ना तथा कक्षा सञ्चालन गर्न र त्यसका लागि अनलाइन भर्ना, फोनबाट भर्ना र भर्चुअल माध्यमबाट कक्षाहरू सञ्चाल नगर्न पाउने निर्णयमा उल्लेख छ ।
बैठकले जिल्लाभित्र धार्मिक, साँस्कृतिक, सामाजिक क्रियाकलापलगायत कुनै प्रकारको जमघट, भेला तथा भोज भतेर हुने सबै प्रकारका क्रियाकलाप सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । विवाहका लागि दुवै पक्षका १०–१० जना गरी बढीमा २० जना र ब्रतबन्धका लागि १० जनामात्रै भेला भई निर्धारित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न भने पाइने भएको छ ।


बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डपालना गर्दै केही क्षेत्र सहज बनाए पनि संक्रमण जोखिम रोकथामका लागि आगामी २४ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको जनाएको छ । जिल्लामा गत वैशाखको २७ गतेदेखि निषेधाज्ञा सुुरु भएको हो । करिब दुई महिनासम्मको लकडाउनले जनजिवनमा प्रतिकुल असर परेको भन्दै यसलाई सामान्य करण गर्न केही क्षेत्रमा सहज बनाइएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्