१९ विद्यालय पुनर्निर्माण हुँदै «

१९ विद्यालय पुनर्निर्माण हुँदै

ओखलढुंगा-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाताको सहयोगमा ओखलढुंगामा निर्माण थालेका १९ वटा विद्यालय भवनको काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जिल्लाका विभिन्न १९ स्थानमा निर्माण गरेको विद्यालय भवनको काम अन्तिम चरणमा पुगेको हो ।
भूकम्प आपतकालीन सहायता कार्यक्रम अन्तर्गत २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालय भवन पुनर्निर्माण गरिएको हो । एसियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा निर्माण भइरहेका विद्यालय भवनमध्ये २ स्थानको विद्यालय भवन निर्माण सम्पन्न भई विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । चिशंखुगढी गाउँपालिकाको कुइभीरस्थित कुइभीर मावि र खानीभञ्ज्याङको सरस्वती माविमा निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण गरिएको हो ।
५ देखि ९ करोडसम्मको लागतमा निर्माण भएका भवनमध्ये अब १७ वटा भवन हस्तान्तरण गर्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख डिल्लीराम लुइँटेलले बताए । “२०७२ सालको भूकम्पछि क्षति भएका विद्यालय भवन बनाउने जिम्मा केद्रीय आयोजना कार्यान्वयन इकाई शिक्षालाई आयो, त्यसपछि हामीले ओखलढुंगाका १९ वटा विद्यालय पुनर्निर्माण गर्नुपर्ने भयो ।” लुइँटेलले भने, “हामीले भवन निर्माणका लागि टेण्डर आह्वान गरेर भवन निर्माणको काम गर्दैछांै ।”
भूकम्पले क्षति पुर्याएका विद्यालय मध्येबाट छनोट गरेर निर्माण गरिएका विद्यालय भवनहरू भूकम्प प्रतिरोधी तथा अपांगतामैत्री छन् । टेण्डरमार्फत् निर्माण थालिएको विद्यालय भवन मारुसिन सिक्टा कन्ट्रक्सनले निर्माण गरिरहेको छ । भूकम्पपछि टेन्ट तथा अस्थायी टहरोमार्फत पठनपाठन गराउँदै आएका विद्यालायलाई केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले अपांगतामैत्री तथा सुबिधा सम्पन्न भवन निर्माण गरिदिएपछि पठनपाठनमा सहज हुने सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङका प्रध्यानाध्यापनक नेत्रबहादुर थापाले बताए । “भूकम्पपछि हामी टेन्टमा पुग्यौं, पठनपानमा निकै समस्या भयो । यस्तो समस्या कतिन्जेल झेल्ने हो भन्ने थियो ।” थापाले भने, “अहिले दाताको सहयोगमा बनेको भवनले खुसी छांै ।”
प्राविधिक धारको पठनपाठन सुरु गर्ने विद्यालयलाई सोही अनुसारको कक्षाकोठा निर्माण गरिएको छ । हाल जिल्लाका मूलखर्क, श्रीचौर, वाक्सा, पलापु, सिंहदेवी, विगुटार, बेतिनी, जन्तरखानी, फूलबारीलगायतका स्थानमा विद्यालय भवन बन्दैछन् । इकाईले ओखलढुंगाको रुम्जाटार र रामपुरमा रहेको माध्यमिक विद्यालयलाई समेत नमुना विद्यालय बनाउन एक विद्यालय बराबर ९ लाख बढीको लागतमा काम सुरु गर्ने जनाएको छ । ग्रामीण भेगमा आरसीसी विद्यालय भवन बनाउँदा सामान ढुवानीमा भने समस्या देखिएको कन्ट्रयाक्टर मारुसिन सिक्टा कन्ट्रक्सनले जनाएको छ । भूकम्पले ओखलढुंगामा २ सय ११ विद्यालयका ४ सय ५८ कक्षा कोठामा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्