खोरुङ्गा खोलामा अस्थायी पुल «

खोरुङ्गा खोलामा अस्थायी पुल

तेह्रथुम-जिल्लाको पूर्वी क्षेत्रसँग जोडिने एकमात्र पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोरुङ्गा खोलामा अस्थायी पुल निर्माणकार्य सुरु भएको छ । ६ वटा स्थानीय तह रहेको जिल्लाको फेदाप र आठराई गाउँपालिका जोडने सडक खण्डअन्तर्गत खोरुङ्गा खोलामा पुल निर्माण सुरु गरिएको हो । पुल निर्माणका लागि फेदाप गाउँपालिकाको सहयोगमा निर्माणकार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।
खोलामा पुल नहुँदा जोखिम मोल्दै आएका यस क्षेत्रका स्थानीयको समस्यालाई मध्यनजर गर्दै पुल निमार्णकार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरि चोङबाङले बताए । खोलामा मोटरेबल पुल नहुँदा खोलाको बीचबाटै सवारी साधन आवतजावत गर्दा जोखिमका साथ यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय इन्द्र नेपालीले बताए । वर्षायाम सुरु भएसँगै यस क्षेत्रका स्थानीयले दैनिक खाद्य सामग्री ढुवानी तथा यात्रुलाई यात्रा गर्नसमेत समस्या हुँदै आएको थियो । यातायातका सवारी साधन सञ्चालनमा नआउँदा पिठउँयुमै भारी बोकेर खाद्यान्न सामग्री ढुवानी गर्दै आएका छन् । नागरिकको समस्या समाधान गर्न गाउँपालिकाले ह्युम पाइप राखेर अस्थायी पुल निर्माण सुरु गरेको हो ।

गाउँपालिकाले आव ०७४/७५ को गाउँसभाबाट ६ लाख र आव ०७५÷७६ बाट १० लाख गरी १६ लाख रुपैयाँ विनियोजन गरी पुल निर्माणकार्य सुरु गरिएको अध्यक्ष चोङबाङले बताए । खोलामा पक्की पुल निर्माण नहुँदा जीर्ण रहेको झोलुंगे पुलबाट मुस्किलले मोटरसाइल तार्नुपर्ने बाध्यता छ । वर्षायाममा यस क्षेत्रका स्थानीय बिरामी हुँदा एम्बुलेन्स सञ्चालनमा समस्या हुँदा बोकेरै जिल्ला सदरमुकामसम्म पुर्याउनु पर्ने स्थानीय बताउँछन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोलामा अस्थायी पुल निर्माणले यस क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्