बर्सेनि आउने विपत्ति रोक्न के गर्नुपर्ला ? «

बर्सेनि आउने विपत्ति रोक्न के गर्नुपर्ला ?

सिन्धुपलाञ्चोक विपद् प्रभावित जिल्ला हो । भूकम्प र बाढीपहिरोको जोखिम रहेको यो जिल्लाको सीमा चीनसँग जोडिएको छ । भूकम्पले चीनसँगको सम्बन्ध विच्छेदजस्तै बनेयता जिल्लाको अर्थतन्त्र पनि प्रभावित बनेको छ । यसैगरी बेलाबखत आउने सुख्खा पहिरोले पनि यस जिल्लामा धनजनको क्षति भइरहेको छ । मानवीय साथै विकासका पूर्वाधारमा समेत असर पारेको छ । यसले जिल्लाको आर्थिक क्रियाकलाप पनि उत्तिकै प्रभावित बनेको छ ।
जिल्लाका विभिन्न बस्ती पहिरोको उच्च जोखिममा छन् । भर्खरै पनि मेलम्ची र हेलम्बु क्षेत्र बाढीबाट प्रभावित बन्यो । बाढीले क्षतिग्रस्त बनेको मेलम्ची क्षेत्र अहिले पनि उत्तिकै जोखिममा छ । यसैले जिल्लाबासी प्राकृतिक विपत्तिको भयमा छन् । प्राकृतिक विपत्ति टारेर टर्दैन तर यसका लागि पूर्वसावधानी अपनाउन भने सकिन्छ । बाढी आउने सम्भावित क्षेत्रमा पूर्वसूचना दिन प्रविधिको उपयोग गर्न सकिन्छ । प्राकृतिक विपत्ति पछिको राहत, पुनःस्थापनाका लागि पनि राज्य संयन्त्रले सहयोग गर्नुपर्छ । सम्भावित विपत्तिजन्य बस्तीलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा सार्नका लागि राज्य संयन्त्रले समयमा नै ध्यान दिनुपर्छ । विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ । यसै सन्र्दभमा कारोबारकर्मी किशोर बुढाथोकीले सरोकारवालासँग गरेको कुराकानीको सार :

सिन्धुपाल्चोकमा जोखिमयुक्त भू–बनोटको अध्ययन जरुरी देखियो
अरुणप्रसाद पोखरेल
प्रमुख जिल्ला अधिकारी
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा हिमाल, पहाड र तराईको हावापानी र भूगोलको अनुभव गर्न सकिन्छ । त्यसैले पनि यहाँ कुन स्थानमा कस्तो विपद् हुन्छ भने अनुमान लगाउने निकै गाह्रो छ । विपद् पनि हामीले फरकफरक किसिमको भएको पाएका छौं । स्थानीयबासी, स्थानीय तह र प्राविधिकहरूले सुरक्षित भनेको स्थानमा पनि बाढी आउने, पहिरो जाने भइरहेका छन् । विपद्को प्रकृति फरक छ । कुनै पनि ठाउँमा कहाँ र कतिबेला के हुन्छ भन्ने पूर्वानुमान लगाउन निकै मुस्किल भएको अहिलेको अवस्था हो ।
जिल्लामा रहेका १२ स्थानीय तहमध्ये जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका र जुगल गाउँपालिकाका अधिकांश क्षेत्र उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । जुगलमा पहिरो जाने समस्या अधिक छ भने बाह्रबिसे र भोटेकोसीमा पहिरोका साथै बाढीको जोखिम रहेको देखिन्छ । भोटेकोसी नदीले पनि कटान गर्ने हुँदा तटीय क्षेत्रका बासिन्दा जोखिममा हुनुहुन्छ ।
नदी क्षेत्रमा पूर्वसूचना प्रणाली राख्ने व्यवस्था भइरहेको छ । बाढी आउन सक्ने सम्भावना रहेकाले चीनको नेलामसँग हामी सम्पर्कमा छौं । चीनतर्फ ताल फुट्नसक्ने, ओभरफ्लो हुनसक्ने सम्भावनाले पनि भोटेकोसी नदी किनारका बासिन्दालाई हरेक वर्ष सताउने गरेको छ । चीनतर्फ बाढी आएको खण्डमा खबर हुने गरी नेलामसँग सम्पर्कमा रहेका हौं । यदि बाढी आएको अवस्थामा चीनतर्फबाट खबर हुनेछ । जसकारण हामीले क्षति बेहोर्नबाट जोगिन सक्छौं ।
अहिले हामीले जिल्लामा करिब एक हजार एक सय परिवार प्रभावित हुनसक्ने प्रारम्भिक आंकलन गरेका छौं । स्थानीय तहमा रहेका प्राविधिक र स्थानीयबासीको सहयोगमा जोखिम क्षेत्र आकलन गरिएको हो । हालै सुनकोसी गाउँपालिकाको एउटा टोलबासी नौ घर जोखिममा रहेको भन्दै सदरमुकाम आउनुभएको थियो । उहाँहरूलाई सुरक्षित स्थानमा सार्नका लागि टेन्ट, खाद्यान्न, औषधिको व्यवस्था भइसकेको छ ।
लामो समयदेखि पहिरोका कारण विस्थापित भएका जुगल गाउँपालिका–१ लिदीबासी अहिले बाँसखर्कमा बसिरहनुभएको छ । हिमाली गाउँ भएकाले टेन्टमा बस्न निकै सकस भएकाले यो बर्खाका लागि हामीले अस्थायी आवास निर्माण सुरु गरिसकेका छौं । नेपाली सेनाको सहयोगमा अहिले जस्तापातासहितको टहरा बनिसकेको छ । यो अबको एक सातामै सबै घरधुरीका लागि बनिसक्नेछ । लिदी पहिरोबाट पूर्णक्षति भएको २८ घर परिवारसहित अहिले ५५ घरधुरीका लागि अस्थायी आवास निर्माण गरिएको हो । अबको तीन महिनाभित्र विस्थापित भएका लिदीबासीका लागि स्थायी आवास बनिसक्नेछ ।
पानी पर्ने क्रम बढिरहेको छ । जसले विपद् निम्त्याउने सम्भावना छ । स्थानीयस्तरबाट कुन बस्ती कति जोखिम भन्ने पहिचान गर्न समस्या देखिएको अहिलेको अवस्था हो । अधिकांश स्थानका भू–बनोट जोखिमयुक्त छ भनिएको छ । तर, प्राविधिक नापजाँच नभएकाले आधिकारिक भन्ने छैन । यसका लागि विपद् जोखिम प्राधिकरणको अगुवाइमा जोखिम क्षेत्र पहिल्याउनका लागि अध्ययन अति जरुरी हो ।
कतै जोखिम देखिएमा स्थानीय विपद् व्यवस्थापन समितिले तत्काल हेनुपर्छ । स्थानीय तहमा आवश्यक टेन्ट, त्रिपाल, जस्तापाता, खाद्यान्न औषधिको भण्डारण जरुरी छ । त्यसको व्यवस्था पनि भइरहेको छ ।

मेलम्चीको विकास १० वर्ष पछि धकेलियो
डम्बरबहादुर अर्याल
प्रमुख, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक

इन्द्रावती किनारमा रहेको भए पनि मेलम्ची विपद्को दृष्टिले सुरक्षित मानिन्थ्यो । यसअघिका विभिन्न अध्ययनले पनि सुरक्षित स्थान भन्दै आइरहेको थियो । तर, असार १ गते इन्द्रावती र मेलम्चीमा एकसाथ आएको बाढीले मेलम्ची बजार ध्वस्त बनाइदियो ।
स्थानीयस्तरबाट संकलन गरिएको तथ्यांकअनुसार डुबानसहित ७३ घरमा पूर्ण क्षति भयो । अझै एक सय सात घर उच्च जोखिममा छन् । यो तथ्यांक मेलम्ची नगरपालिकाको वडा नं. ११ को मात्रै हो । बाँकी वडा नं. ६, ७, १०, १३ लाई पनि जोखिम क्षेत्रको सूचीमा राखेका छौं ।
बाढीले विस्थापित भएकाहरूलाई नगरपालिकाले तत्काल नेपाली सेनाको व्यारेक र सुरक्षित रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राख्यौं । खाना, बस्नको प्रबन्ध गरेसँगै खोज तथा उद्धारमा हामी लागेका थियौं । अहिले ब्यारेक र विद्यालयमा विस्थापितहरू हुनुहुन्छ । केही काठमाडौं जानुभयो । कति आफन्तकोमा शरण लिइरहनु भएको छ । कतिपयले नयाँ डेरा खोजेर अहिले बसिरहनु भएको छ । भाडामा बसिरहनु भएकालाई नगरपालिकाले भाडा तिरिदिने व्यवस्था गरेको छ । तर, कति आफन्तकोमा हुनुहुन्छ, कति काठमाडौं जानु भयो र कति डेरामा हुनुहुन्छ भन्ने एकिन विवरण आइसकेको छैन । हामी विवरण संकलन गर्दैछौं ।
कति सुरक्षित छ भन्नेबारे यहाँको भौगोलिक धरातलको अवस्था हामीले केही अध्ययन नगरेका होइनौ । यूएनडीपीको समन्वयमा हामीले स्थानीय सरकार सुरु भएलगत्तै एउटा प्राकृतिक भौगर्भिक प्राविधिक अध्ययन ग¥यौं । त्यो अध्ययन भूगर्भविद र प्राविधिकले मेलम्ची र इन्द्रावती नदीको एक सय वर्ष इतिहासलाई लिएर गरेको थियो । एक सय वर्षसम्म भएको घटनाको आधारमा भौगर्भिक अध्ययनको आधारमा नदीबाट दुई सय मिटर पर दूरी राखेर घर बनाउने मापदण्ड बनाएका थियौं । त्यहीअनुरुप नक्सा पासको व्यवस्था ग¥यौं । तर केहीले आफ्नो हिसाबले घर नबनाएका होइनन् । तर भौगर्भिक अध्ययनलाई मान्दा पनि यस्तो प्रलय होला भन्ने कल्पना पनि गरेका थिएनौ, यो यहाँको नदीको इतिहासमा पहिलो पटक हो । फलस्वरुप हाम्रो एक सय वर्षको इतिहास या प्राकृतिक भौगर्भिक अध्ययनबाट बनाइएको मापदण्डलाई बाढीले फेल खुवाइदिएको छ । नदी बजारबीचसम्म आइपुगेर बगर तुल्यायो । कति क्षति भयो भन्ने मेलम्ची बजारभरको तथ्यांक संकलन गर्न टोली खटाएका छौं, झण्डै १० हजार खेतीयोग्य जमिन बगर बनेको अनुमान छ । घरहरू बगाए, केही डुबे, अर्बौंको क्षति भएको छ । सयौंलाई घरबारविहीन तुल्यायो ।
चिटिक्क मेलम्ची बजारलाई बाढीले १० वर्ष पछाडि धकेलेको छ । तर अब जे नहुुनु भइसक्यो, अब ५ वर्षमा पुनः व्यवस्थित बनाउने योजनाका साथ काम गर्नेछौं । विपद् बाजा बजाएर आउँदैन भन्ने उखान थियो । सत्य सावित भयो । सुरक्षित भनेर कुनै स्थानको भर नहुने रहेछ । अहिले मेलम्ची पीडामा छ । अब हामीले घरबारविहीन भएकालाई तत्काल अस्थायी प्रकृतिको संरचना बनाउँदै छौं । पीडामा रहेका मेलम्चीबासीलाई जीविकोपार्जनसहितको स्थायी संरचनाको आवश्यक छ । त्यसका लागि नीति बनाएर नगरपालिका अघि बढ्नेछ ।

विपद्को सम्भावना आकलन गरी पूर्वतयारी गरेका छौैं
राजकुमार पौडेल
अध्यक्ष, भोटेकोसी गाउँपालिका, सिन्धुपाल्चोक

अन्य स्थानीय तहको तुलनामा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका विपद्को सम्भावना भएकाले जोखिमस्थल हो । यहाँको भूबनोट बढी भीर भएकाले पहिरोको जोखिममा छ । बाढी पनि उत्तिकै आउँछ । हरेक वर्ष साना ठूला बाढीले क्षति पु¥याइरहेको हुन्छ ।
कोदारी राजमार्गको लार्चा, कोदारी, फुल्पिङकट्टी बाढीको जोखिममा छ । त्यस्तै बुल्कुटे, लिस्ती, पाउगुम्बा नारायणथानको च्यामडाँडा पहिरोको जोखिममा छ । गएको वर्ष बुल्कुटेको बाढी पहिरोमा तीन घर बगे । चारजना अझै बेपत्ता छन् । लार्चामा पनि घरहरू बगे । भौतिकसहित मानवीय र पशु चौपायाको क्षति भयो ।
जोखिमस्थान पहिचान गरिएका बस्तीमध्ये करिब ८० घर जोखिममा रहेको प्रारम्भिक आकलन छ । जोखिम क्षेत्रमा बसोबास गरिरहनु भएकाहरू आर्थिक अवस्था राम्रो हुने काठमाडौं या अन्य बजारमा जानुभएको छ । निम्न आय भएकाहरू यतै हुनुहुन्छ । उहाँहरूका लागि तत्काल सुरक्षित स्थानमा बस्नका लागि टेन्ट, त्रिपाल, खाद्यान्नलगायत सामग्री दिइएको छ ।
स्थानीय सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न काम गरेको छ । विपद न्यूनीकरणका लागि पनि अझै प्रयास जारी छ । बाढीको जोखिम भएकाले तल्लो तटीय क्षेत्रमा नबस्न सुझाएका छौं । हामी राजनीति गर्नेहरूले जनताको ख्याल राख्नुपर्छ उहाँको सेवामा खटिनुपर्छ । जनता बचाउन नसके केका लागि राजनीति गर्ने भन्ने मनसायले हरेक वडामा स्थानीय विपद् व्यवस्थापन समिति सक्रिय छ । डाँडा खस्न सक्ने सम्भावना भएका टोललाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौं । कतिपय घरधुरी आफ्नो थातथलो छाडेर सुरक्षित स्थानमा हुनुहुन्छ ।
विपद् कति बेला हुन्छ भन्ने कसैलाई थाहा हुन्न । त्यसको तयारीका लागि तुरुन्तै आवश्यक पर्ने सामग्री स्टोर गरिराखिएको छ । जोखिम क्षेत्रमा रहेर घरबारविहीन भएकाको परिवारका लागि हामीले स्थायी संरचना बनाउने नीति बनाएका छौं । त्यसका लागि यो गाउँसभाबाट ३७ लाख विनियोजन गरेका छौं । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा बन्ने आवास निर्माणका लागि यो बजेट विनियोजन गरिएको हो । केन्द्रीय नीतिअनुसार विपद् पीडितका लागि स्थानीय तहले १० प्रतिशत लगानी गनुपर्ने हुन्छ ।

निजी क्षेत्रबाट पनि प्राकृतिक विपद्मा सहयोग भइरहेको छ
होमबहादुर श्रेष्ठ (राजकुमार)
अध्यक्ष, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ

सिन्धुपाल्चोकमा अन्य जिल्लाको तुलनामा कोरोना संक्रमण पनि बढेकै हो । सरकारी र गैरसरकारी निकायले रोग नियन्त्रणका लागि अनेकौं जुक्ति नलगाएको पनि होइन । तर पनि जिल्ला अझै जोखिममा छ ।
कोरोना नियन्त्रणका लागि जिल्लास्तरीय विपद् समिति सम्बन्धित सरोकारवाला निकाय खट्नु जरुरी छ । जिल्लाका सरोकारवाला समितिले मात्रै नसक्ने अवस्था हो यो । यस अर्थमा सबै सामाजिक, आर्थिक, क्षेत्रलगायत सबै जुट्नु जरुरी देखिन्छ ।
सिन्धुपाल्चोक कोरोनासँगै हरेक वर्ष विपद् झेल्ने जिल्ला हो । स्थानीय तहले विपद् व्यवस्थापनमा ध्यान दिएको देखेकौ छौं । स्थानीय, प्रदेश, संघीय सरकारले नगरेको र असम्भव काम हामी निजी क्षेत्रले गर्ने हो । हामी हाम्रा व्यवसायी र जिल्लाबासीको हकहितका लागि जुटन तयार छौं । किनकि यो वाणिज्य संघ जिल्लाको सबै सानाठूला व्यवसायीको संस्था हो ।
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले हालसम्म विपद्मा जिल्लामा ९० हजार मास्क, सेनिटाइजर १२ सय लिटर, ग्लोब्स १२ सय जोर, १ हजार १४ पीपीई, थर्मल ४ सय थान, अक्सिमिटर १२, अस्क्सिजन कन्सेट्रेटर सहयोग गरेको छ ।
सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा हिमाल, पहाड र तराईको हावापानी, भूगोलको अनुभव गर्न सकिन्छ । त्यसैले पनि यहाँ कुन स्थानमा कस्तो विपद् हुन्छ भने अनुमान लगाउने निकै गाह्रो छ । विपद् पनि फरकफरक किसिमको भएको हामीले पाएका छौं । स्थानीयबासी, स्थानीय तह र प्राविधिकहरूले सुरक्षित भनेको स्थानमा पनि बाढी आउने, पहिरो जाने भइरहेका छन् । विपद्को प्रकृति फरक छ । कुनै पनि ठाउँमा कहाँ र कतिबेला के हुन्छ भन्ने पूर्वानुमान लगाउन निकै मुस्किल भएको अहिलेको अवस्था हो । त्यसैले पनि गाउँपालिका र नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
हामी सामाजिक संस्था हो । सबैको हितका लागि काम गुर्नपर्छ । जिल्लाको सबै क्षेत्र, गाउँ, बस्तीमा हामी पुग्नुपर्छ र सकेको पुगेकै छौं । सामाजिक संस्था भएकाले सामाजिक काम गर्ने र समुदायलाई सुरक्षित राख्ने हाम्रो जिम्मेवारी हो । हामी यसमा काम गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्