तीन तहसँग समन्वय गरी बजेट ल्याउन बोर्डलाई सुझाव

पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड–१९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरूले यो समयमा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकारसमेत खुम्चिने भन्दै भएको बजेटबाट सीमित तर प्रभावकारी काम गर्नसमेत बोर्डलाई सुझाव दिएका छन् ।
बोर्डले आव २०७८-७९ को बजेटका सन्दर्भमा बिहीबार आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै विज्ञहरूले पहिले बोर्डलाई बचाउने र त्यसपछि सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिए । उनीहरूले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा जोड दिए । पूर्व गभर्नर तथा पूर्वपर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले वर्तमान विषम परिस्थितिमा पर्यटन प्रवद्र्धन गर्न संघीय सरकारले बोर्डलाई अनुदान दिनुपर्ने बताए । उनले समस्यामा परेको समय सहयोग गर्ने र भएको समय लिनेगरी अगाडि नबढे पर्यटन प्रवद्र्धनमा आर्थिक समसया आउने र सम्रग पर्यटन क्षेत्र प्रभावित हुने बताए ।
यस्तै विज्ञ डा. विष्णुप्रसाद गौतमले विगतमा भएका कार्यहरूको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । यस्तै अर्का विज्ञ डा. पे्रम शर्माले तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिए । यस्तै विज्ञहरू प्राध्यापक डा. सोमप्रसाद खतिवडा, रामचन्द्र सेँडाइ, चेतनाथ कँडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालालाई समेटेर कम्तीमा २ देखि ३ वर्षको रिकभरि र रिभाइवल योजना बनाउनुपर्ने र सोहीअनुरूप पर्यटन प्रवद्र्धनका कार्य अगाडि बढाउनुपर्ने बताए ।
यस्तै विज्ञहरू डा. आलोक राई, रमेश उपाध्याय र पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरले कोभिड चुनौतीसँगै अवसर पनि भएकाले यो समयमा जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए ।
यसैगरी पर्यटन व्यवसायीहरू विजय अमात्य, विक्रम पाँडे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्दै पूर्वाधारभन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिने गरी बजेट बनाउन बोर्डलाई आग्रह गरे ।
अन्तरक्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरूले तयारी गरिरहेको जानकारी दिए । उनले विज्ञहरूका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने बताए । उनले थोरै बजेट भए पनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरूका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने बताए ।
यस्तै बोर्डका अर्का सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितिमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिए । यस्तै उनीहरूले बोर्डले स्रोत खुम्चिएको अवस्थामा सरकारसँग सहयोगको अपेक्षा गरेको समेत बताए । स्रोतको अभावका समयमा सीमित तर प्रभावकारी योजनामा मात्र रकम खर्च गर्न, डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन बोर्डलाई सुझाव दिएका थिए । यस्तै उनीहरूले प्रादेशिक रूपमा सबै प्रदेशमा केही हुने गरी बजेट बनाउन र प्रवद्र्धनका कार्यक्रम ल्याउनसमेत सुझाव दिए ।