मनसुनपछि ८५ सडक खण्ड अवरुद्ध
मर्मत गर्न एक अर्ब आवश्यक

मनसुनको सुरुवातसँगै मुलुकभर बाढी पहिरोको त्रास बढ्नुका साथै आवतजावतमा समस्या उत्पन्न भएको छ । गत जेठ ३० देखि बिहीबारसम्मको अवधिमा झन्डै ८५ वटा सडकखण्ड अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार, बाढी र पहिरोका कारण क्षति भएका सडक तथा पुलको ममृतका लागि १ अर्ब लाग्ने भएको छ । राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरकरणका अनुसार, हालसम्म कुल ८५ वटा सडकका विभिन्न खण्ड अवरुद्ध भएकोमा अझै १४ वटा सडक सुचारु हुन सकेका छैनन् भने ४९ वटामा एकतर्फी चालु गरिएको छ । प्राधिकरणका अनुसार, २२ वटामा मर्मत कार्य सकिएर दुबैतर्फ सुचारु भएका छन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार बाढी पहिरोका कारण ४६२ निजी घर पूर्ण रुपमा क्षति, ११० घर आंशिक क्षति, ३६ सरकारी कार्यालय, ६ वटा सरकारी विद्यालय तथा सामुदायिक भवन, २२ वटा झोलुङ्गे पुल, १० वटा पक्की पुल, १३ वटा हाइड्रो र ५ वटा काठको पुलमा क्षति पुगेको छ ।
बाढी पहिरोको कारण क्षति पुगेका सम्पूर्ण भौतिक संरचना निर्माणको लागतबारे विस्तृत अध्ययन हुन बाँकी रहेपनि प्रारम्भिक रुपमा भने १० वटा पक्की पुल तथा अवरुद्ध सडक मर्मतका लागि मात्रै १ अर्ब लागत लाग्ने देखिएको छ ।
सडक विभागका उप–महानिर्देशक शिव नेपालले भत्किएका सडक तथा पुल मर्मतका लागि १ अर्ब लागत लाग्ने र लागत व्यवस्थापनमा चुनौती रहेको बताए । “मनसुन सुरुवात भएको १५ दिनमा नै जाखिम देखिएको छ । अझै मनसुन सक्रिय हुनै बाँकी छ, अवस्था अझै खतरानक बन्न सक्छ,” उनले भने, “बाढी पहिरोका कारण क्षति भएका सडक मर्मतका लागि हामी जुटिरहेका छौं । ३-४ वटा राजमार्ग बाहेक अन्य राजमार्ग छिट्टै मर्मत हुने छ । तर प्राप्त बजेटको अभाव, कोभिड, स्थानीय सरकारसँगको समन्वयको अभावले चुनौती थपिएको छ ।”
नेपालले भावी दिनमा आइपर्ने सडक तथा पुलको समस्या समयमा समाधान गर्न प्राविधिक जनशक्ति, मेसिनरी सामग्री तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । उनका अनुसार, अवरुद्ध सडकमध्ये मनाङ चामे जाने सडक,, अरनिको हाईवे, बाजुराको साँफेवगर–मार्तडी–कोल्टी सडक मर्मतका लागि भने समय लाग्ने छ । “जथाभावी सडक खनेका कारण सडक अवरुद्धको घटना वृद्धि भएको छ, व्यक्तिले समेत सडक खान्दा समस्या बढिरहेको छ । अब मापदण्ड बनाएर यसलाई व्यवस्थित गर्दैछौं । अहिले बजेट कम भएपनि लगानी बढाएर व्यवस्थापन गर्ने तयारीमा छौं,” उनले भने ।
शनिबारसम्म वर्षा हुने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार तथा दिउँसो र राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
क्षति विवरण पेश गर्न निर्देशन
उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजनय विपत्तिका कारण भएका क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री पौडेलले बिहीबार विपद् व्यवस्थापन सम्बन्धी आयोजित समन्वयात्मक बैठकमा मार्फत सम्बन्धित मन्त्रालयका प्रतिनिधि र सरोकारवालालाई क्षतिको विवरण तयार गरी कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्ने बिषयमा कार्ययोजना आगामी ३ दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।