भाँडा बिक्री गर्न नपाउँदा जिवन चलाउन समस्या «

भाँडा बिक्री गर्न नपाउँदा जिवन चलाउन समस्या


आफूले निर्माण गरेका सामान बिक्री नहुँदा कुमार समुदायलाई जिवन चलाउन समस्या भोग्नु परेको बताएका छन् ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण माटोका भाँडा बनाएर जीविका चलाउँदै आएका कुमाल समुदाय समस्यामा परेका हुन् ।

आफूले बनाएका भाँडा बजारमा बिक्री गर्ने र त्यहीबाट आम्दानी भएको पैसाबाट जीविका चलाउँदै आएका उनीहरु बन्दका कारण भाँडा बेच्न नपाउँदा समस्यामा परेका बताएका छन् । माटोका भाडाहरू बिक्री गर्दै जीविका चलाउने गरे पनि वैशाखदेखि आफूहरुले तयार गरेका भाँडाहरु बिक्री गर्न नपाएको देउखुरीको गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमालले बताए ।


उनले भाडा बिक्री नहुँदा दैनिक जीविका चलाउन समस्या भएको बताए । “हाम्रो घर व्यवहार चलाउने माध्यम भनेको नै माटोका भाडा बनाउने र बिक्री गर्ने हो”, उनले भने, “तर अहिले लकडाउनका दुई महिनादेखि बिक्री गर्नै सकेका छैनौँ । घरको आम्दानीको श्रोत नै बन्द भएको छ ।” उनले भाँडाहरु बिक्री हुन छोडेपछि अहिले भट्टीमा राखेका भाडाहरू समेत झिक्न नसकेको बताए । भाँडाहरू बिक्री गर्ने बजार राम्रोसँग खुल्न नसक्दा वैशाखको १५ गतेदेखि यता बिक्री गर्न नसकेको बताए । दैनिक भाँडा बेचेर जीविका चलाउने परिवारलाई लामो समय बन्द हुँदा ठूलो समस्या परेको उनी बताउँछन् । “हाम्रो पेशा भनेकै यही हो, अन्य काम गर्नलाई जग्गा जमिन छैन”, उनले भने, “त्यसले गर्दा बनाएका भाडा बिक्री गर्न पाएनौँ भने हामीलाई खान लाउनै समस्या हुने गर्छ ।’


उनले राम्रो समयमा मासिक ३०÷३५ हजारसम्मको भाँडाहरु बिक्री गर्दै आएको बताउँछन् । उनको जस्तै अवस्था छ पत्रिङ्गा कै गाजुराम थारु कुमालको पनि । माटोबाट भाँडा बनाउने र ती भाँडाहरू बिक्री गर्दै आएका ६६ वर्षीय कुमालले पनि दुई महिनादेखि भाँडा बिक्री गर्न नसक्दा घरको छाकबास नै बस्ने अवस्था आइपुगेको बताए ।
घरको मुख्य आम्दानीको स्रोत नै माटोबाट विभिन्न भाँडा बनाउने र त्यी भाँडा बिक्री गर्ने र घर–व्यवहार चलाउने भए पनि लामो समयसम्म भएको बन्दका कारण समस्यामा परेको बताए । “अहिले बोकेर माटोका भाँडाहरू बिक्री गर्न गाउँ–गाउँ जान सक्ने अबस्था छैन । उमेरले गर्दा पनि अहिले बोक्न सकिँदैन”, उनले भने, “त्यसैले घरमा बनाउने र बजारमा लगेर बिक्री गर्ने हो । तर बजार राम्रोसँग खुल्न नसक्दा बिक्री नै भएका छैनन् ।”


उनले बजार विस्तारै खुल्न थालेको सुनेपछि खुसी लाग्न थालेको समेत बताए । उनले यसअघि देउखुरीको भालुवाङ, लमही, घोराही, तुलसीपुर, सल्यान, प्युठान र बुटवलसम्म लगेर बिक्री गर्ने गरेको बताएका छन् । लकडाउनका कारण लामो समयसम्म बजार बन्द हुँदा माटोको भाँडा बनाउने पेशामा आवद्ध भएका धेरै जना समस्यामा परेका छन् ।
देउखुरीको पत्रिङ्गा र खैरामा रहेको थारु कुमाल समुदायले माटोका भाँडा बनाउने काम गर्दै आएका छन् । कुमाल समुदायले माटोबाट घैंटा, पाला, गमला, करुवा, हाँडी, कौसी, पैनी, खुत्रुके लगायतका भाँडाहरु बनाउने काम गर्दै आएका छन् । यसरी बनाएका सामग्रीहरु विशेष गरी तिहार र अन्य विभिन्न कार्यहरुका लागि समेत बिक्री हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्