दानामा १०८ धारा निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको धार्मिकस्थल मोतिचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित आठ लाख, देश तथा विदेशमा रहेका दानाबासीबाट प्राप्त सहयोग ११ लाख र तीन लाख बराबरको स्थानीयको श्रमदान गरी कुल २० लाखको लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए ।
मोतीचौरमा शिद्घ र बराहको मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरू पूजा गर्न आउने गर्दछन् । बलि नदिई पूजा गर्नेका लागि १०८ धाराको नजिकै लक्ष्मी नारायणको मन्दिरसमेत निर्माण गरिएको छ । मोतिचौर बराहका संरक्षक टेकबहादुर थापा, लेफ्टिनेन्ट बेलबहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपूर्ण गाउँकार्यपालीका सदस्य थमबहादुर विश्वकर्मा लगायतको पहलमा उक्त धारा निर्माण गरिएको हो ।
पर्यटन र हाइड्रोले चिनिएको यस गाउँपालिकामा थप पर्यटन विकासका लागि गाउँपालिका र स्थानीयको आर्थिक सहयोगमा धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव गंगा पुनले बताए । आर्थिक संकलन अभियानकर्ता लेफ्टिनेन्ट बेलबहादुर पुर्जाले हिउँदमा पनि नसुक्ने १०८ वटा मूलबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महत्व रहेको छ ।
मोतिचौरको धार्मिक पर्यटनलाई विकास गर्नका लागि यसै वर्षदेखि नै दाना, घट्टेखोला, डाँडागाउँदेखि कुलिबाङ हुँदै द्वारी मोतिचौर पुग्ने सडक खन्न सुरु गरिएको छ । सडक निर्माणका लागि आगामी आर्थिक वर्षमा १५ लाख गाउँसभाले विनियोजन गरेको वडा नम्बर तीन दानाका वडाध्यक्ष नरसिङ पुनले जानकारी दिए । धारा निर्माणसँंगै अन्य पूवार्धार निर्माणतर्फ समितिले जोड दिएको छ । स्थानीयले इतिहासलाई जर्गेना गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर आम्दानीको स्रोत विकास गरेर गाउँलाई आत्मनिर्भर अभियानमा लागेका छन् ।