विराट ट्रेड एक्स्पोमा आयोजकको अपेक्षाभन्दा बढी कारोबार «

विराट ट्रेड एक्स्पोमा आयोजकको अपेक्षाभन्दा बढी कारोबार

विराटनगर-नौ दिनसम्म सञ्चालन भएको विराट ट्रेड एक्स्पो अर्थात् अन्तर्राष्ट्रिय व्यापार मेलामा आयोजकको अपेक्षाभन्दा बढी कारोबार भएको छ ।
काठमाडौंभन्दा बाहिरको सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको एक्स्पोमा आयोजकको अपेक्षाभन्दा ५ करोड बढी कारोबार भएको छ । मेलाको अवधिभर २५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक मोरङ व्यापार संघका महासचिव नविन रिजालले जानकारी गराए । आयोजकले १५ देखि २० करोड बराबरको कारोबार हुने अपेक्षा राखेका थियो । अपेक्षाभन्दा बढी कारोबार हुनुमा उपभोक्तामा मेलाप्रतिको आकर्षण, अनुकूल मौसमलगायत रहेको उनको भनाइ छ । “खुसीको कुरा के छ भने मेला अवधिभर मौसमले साथ दियो, पुस भएर पनि खासै जाडोको महसुस भएन,” उनले भने, “अनि मेलाप्रति विराटनगरवासीको अथाह माया पनि रह्यो ।”
मेला शनिबार औपचारिक रुपमा समापन गरिएको छ । पुस ६ गतेदेखि सुरु मेलामा १ लाख ५० हजार दर्शकले अवलोकन गरेको मेला आयोजक समितिका संयोजक अनुपम राठीले बताए । विराटनगर–२ शंकरपुरस्थित खाली जमिनमा आयोजना गरिएको मेलामा २ सय ५० स्टल राखिएको थियो । राठीका अनुसार सवारी साधन र नयाँ प्रविधिमा दर्शकको आकर्षण बढी देखियो । सवारी साधन, भाँडाकुँडा, टेलिभिजन, खाद्यन्न, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामग्री बढी बिक्री भएको छ ।
“नयाँ–नयाँ उत्पादनमा ग्राहकको औधी रुचि देखियो,” संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भने, “सामान खरिद गर्ने मात्रै होइन होटल र रेष्टुरेन्टमा खानाका पारखीको भीड पनि उत्तिकै लाग्यो, यो मेला ऐतिहासिक र भव्य रुपमा सम्पन्न भयो भन्ने हामीले ठानेका छौं ।” मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकबाट पनि २५ वटा स्टल समावेश थिए । सेल्फी जोनमा राखिएको डायनोसरको दुईवटा प्रतिमा र कमलको फूल आकृतिको प्रवेशद्वार मेलाको सबैभन्दा बढी आकर्षण रह्यो । जहाँ फोटो खिच्ने दर्शकले पालो कुर्नुपर्यो ।
अटोमोबाइल्स, आइटी, बैंक, निर्माण सामग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पल, स्वास्थ्य, पर्यटनसहित दैनिक उपभोग्य सामग्रीका साथै बालबालिकाका लागि छुट्टै मनोरञ्जनस्थल छुट्याएर विभिन्न खेल सामग्री राखिएको थियो । समापन समारोहमा प्रदेश–१ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, पूर्वअर्थमन्त्री महेश बस्नेत, राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझी, संघका अध्यक्ष पवनकुमार सारडा, संघका पूर्वअध्यक्ष महेश जाजुलगायतले निजी क्षेत्रको विकासले मात्रै मुलुक आर्थिक समृद्धि र रोजगारी सिर्जना हुने बताए । उनीहरूले सरकार र निजी क्षेत्र मिलेर आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्