‘गरिबी, बेरोजगारी र हरितगृह ग्यास उत्सर्जन शुन्यमा झार्नुपर्छ’ «

‘गरिबी, बेरोजगारी र हरितगृह ग्यास उत्सर्जन शुन्यमा झार्नुपर्छ’


नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन अर्थात तीन शुन्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठूलो संकट खतराको सामना गर्नुपर्ने बताएका छन् ।


११औं सामाजिक व्यवसाय दिवसका अवसरमा बुधबार अनलाइन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई सम्बोधन गर्दै उनले अहिलेको पुँजी प्रधान आर्थिक प्रणालीको पुर्नसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणाली लागु गर्नुपर्ने उल्लेख गरे ।
नेपाल फोरमको विशेष वक्ताको रुपमा आमन्त्रित प्रोफेसर युनूसले कोरोना महामारीले विभेद र खतराहरु पैदा गर्ने हिजोको आर्थिक प्रणालीको पुर्नसंरचना गर्ने महत्वपूर्ण अवसर दिएकाले यसलाई अवसरमा बदल्नु पर्ने बताए । “हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्वनरहित बनाउनतर्फ लाग्नुपर्छ” उनले भने, “त्यसको यात्रा आजैबाट शुरु हुनुपर्छ । सबै आ–आफ्नो तर्फबाट अघि बढ्नु जरुरी छ । यसका लागि हामीसँग जे छ त्यो लिएर अघि बढौँ र अरुलाई पर्खने समय छैन ।”


स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरिबी निवारण, शुन्य बेराजगारी र शुन्य कार्वन उत्सर्जनको पथमा अघि बढ्न घच्घच्याएको र प्रोफेसर यूनुसको उपस्थितिले यसमा उर्जा दिएको बताए । “हामीसँग समस्याहरुको समाधान गर्नका लागि आर्थिक स्रोत र साधनको साथै ज्ञान र सीपहरु पनि छन्” उनले भने, “तर हामीमा संस्कार र संकल्पको कम छ । त्यसैले संस्कार र संकल्पका साथ हामीसँग भएको क्षमता प्रदर्शन गर्नु जरुरी छ ।”
फोरमले विश्वका तीन ठूला समस्या शुन्य गरिबी, शुन्य बेराजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन र सोअन्तर्गत १० वटा उपशिर्षकहरुमा छलफल गरेको थियो । छलफल पछि आगामी दुई वर्षभित्र कार्यान्वयन गर्ने गरी कार्ययोजना समेत बनाएको छ । सोही कार्ययोजना २०७८ असार २० गते बंगलादेशको यूनुस सेन्टरले आयोजना गर्ने अन्तर्राष्ट्रिय साझा फोरममा पनि प्रस्तुत गरिने छ । कार्यक्रममा आर्थिक, सामाजिक, शिक्षा, वातावरण, महिला युवा तथा अन्य विभिन्न क्षेत्रका ३ सय ६६ जना व्यक्ति सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्