सेमि भर्चुअलमा पोखरा स्पोर्टस् अवार्ड हुने «

सेमि भर्चुअलमा पोखरा स्पोर्टस् अवार्ड हुने


कोरोना संक्रमण दर हाल पनि नघटेकोले गर्दा पोखरामा शुक्रबार सेमि भर्चुअल रूपमा पोखरा स्पोर्टस् अवार्ड– हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट उक्त अवार्ड हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपालि वर्ष २०७६÷७७ दुवैलाई जोडेर संयुक्त रुपमा गर्न लागेको मञ्च अध्यक्ष एकराज गिरीले बताए ।
स्पोर्ट्स अवार्डका विभिन्न ७ विधामा खेलाडी, प्रशिक्षक, पत्रकार र खेलसंघलाई समेत सम्मान गरिने भएको अध्यक्ष गिरीले जनाए । लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल यस बर्ष दुई जना पत्रकारलाई सम्मान गनिरे भएको छ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई प्रदान गरिने भएको मञ्चका महासचिव विजय नेपालले बताए ।
वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा परेका छन् ।
उदीयमानतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनीत छन् । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगदसहित अवार्ड जित्ने छन् । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ ।
लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २÷२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।
खेलाडी छनोटका लागि मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । जसको सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा उत्कृष्ट पत्रकार छनोट समितिमा त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ र विनोद लामिछाने एवं पदेनसदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल छन् ।
उक्त अवार्ड सफल पार्न राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोग गर्ने भएको मञ्चले जनाएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न १७ लाख खर्च लाग्ने अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्