प्रदेशस्तरको लघुवित्त संस्था खोल्न २ करोड चुक्ता पुँजी «

प्रदेशस्तरको लघुवित्त संस्था खोल्न २ करोड चुक्ता पुँजी

नेपाल राष्ट्र बैंकले प्रदेशस्तरमा गरिबलाई वित्तीय सेवा दिने लघुवित्त संस्था खोल्न २ करोड रूपैयाँ चुक्ता पुँजी चाहिने जनाएको छ । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै २ करोड रूपैयाँ चुक्ता पुँजी राखेर प्रदेशस्तरको लघुवित्त संस्था खोल्न पाइने व्यवस्था गरेको हो ।
हालको नियमअनुसार राष्ट्रियस्तरको लघुवित्त संस्था खोल्न १० करोड रूपैयाँ पुँजी आवश्यक पर्छ । तर, नयाँ परिपत्रले कुनै एक प्रदेशमा मात्रै सेवा दिन्छु भनेर २ करोड चुक्ता पुँजीमै लघुवित्त संस्था खोल्न पाउने भएको हो ।
मुलुक संघीयतामा गएसँगै वित्तीय क्षेत्रलाई पनि संघीयता अनुरूप ढाल्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाउँदै राष्ट्र बैंकले यसअघि विकास बैंक र फाइनान्स कम्पनीलाई पनि प्रादेशिक स्तरमा खोल्न पाउने व्यवस्था गरिसकेको छ । अब लघुवित्त संस्थाहरू कि राष्ट्रियस्तरको कि त प्रादेशिकस्तरको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ र जिल्लास्तरमा लघुवित्त संस्थाहरू खोल्न पाइने छैन ।
राष्ट्र बैकका अनुसार कुनै लघुवित्त संस्थाले १० करोड रूपैयाँ चुक्ता पुँजी पु-याएर राष्ट्रियस्तरमा स्तरोन्नति नभएसम्म कुनै एक प्रदेशमा मात्रै कारोबार गर्न पाउनेछ । साथै, १० करोड चुक्ता पुँजी नभएका तर एकभन्दा बढी प्रदेशमा शाखा खोलेर कारोबार गरेका लघुवित्त संस्थाले २०७७ असार मसान्तभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटा प्रदेशमा मात्रै सीमिति गरिसक्नुपर्ने छ । यस्तै, कुनै लघुवित्त संस्था राष्ट्रियस्तरमा स्तरोन्नति हुन चाहेमा मर्जरलाई प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्