सुन अभाब हुँदा कालो बजारी बढयो «

सुन अभाब हुँदा कालो बजारी बढयो


माग अनुसार आपूर्ति नहुँदा रुपन्देहीका बजारमा सुनको कालोबजारी भइरहेको व्यवसायीहरुले बताएका छन् ।
सुनचाँदी व्यवसायका लागी आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा पर्याप्त नहुँदा कालो बजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माले बताए ।
“अहिले सुनको आपूर्तिमा बजार हेरेर कोटा प्रणाली निर्धारण गरीएको छ । तर गहनाको माग बढ्ने सिजनमा पर्याप्त सुन नहुँदा कालोबजारी गर्नेले पश्रय पाइरहेका छन्” अध्यक्ष विश्वकर्माले भने ।
“अहिले रुपन्देहीमा एक साताका लागि ३ किलो सुनको कोटा दिइएको छ, ३ किलो भनेको २५७ तोला हो, जिल्लामा संघमा आवद्ध ५५० व्यवसायी छौं, आधा तोला सुन लिएर के गर्ने हो”अध्यक्ष विश्वकर्माले भने, “जिल्लामा सुनको माग दैनिक डेढ किलो भन्दा बढी छ, सिजनमा अझ बढ्छ, अब चाडबाडको मौसम सुरु भयो । सुनको माग बढिरहेछ तर, हामीसँग सुन अभाव छ ।”
बजारमा सुन कोटा प्रणालीबाट आउँदा व्यवसायलाई व्यापार चलाउन गाह्रो भएको सुनचाँदी विज्ञ प्रेमकुमार सेन्चुरीले बताए ।
“अर्डर गरेको सुनको गहना बनाएर दिनै प¥यो, सस्तो महगो भन्ने कुरा भएन, अर्डर हुदा जुन दर थियो त्यही दरमा दिनु पर्छ, सुन अभाव हुँदा व्यवसायी चिन्तामा छन्, नोक्सानमै व्यवसाय गर्नु परेको छ” बिके ज्वलेर्सका सञ्चालक समेत रहेका सेन्चुरीले भने ।
सुन नभए पछि व्यवसाय जोगाउन व्यवसायीले महगोमा सुन खरीद गर्न थालेका छन् । ठूला डिलरहरु व्यवसायीकहा सुन बोकेर आफैं तोलमोल गर्न पुग्ने गरेको र एक तोलामा अहिले ३५ सयदेखि ४ हजार रुपैयाँ सम्ममा बढी मूल्य लिएर ठूला डिलरहरुले सुन सप्लाई गरीरहेको एक व्यवसायीले बताए । सुन अभाव हुँदा कालोबजारीले पश्रय पाइरहेको र यस्ले ग्राहक, व्यवासायी र राज्यलाई समेत हानी पु¥याइरहेको व्यवसायीको भनाइ छ ।
२०६९ सालबाट नेपालमा सुनचादी व्यवसायीहरुलाई कोटा प्रणालीमार्फत सुन उपलब्ध हुँदै आएको छ । तत्कालीन अर्थमन्त्री डा.बाबुराम भटराईले कोटा प्रणाली लागू गरेका थिए । सुन अभाव बढ्दै जाने हो भने यस्को कालोबजारी बढेर बजारमा भयावह अवस्था आउन सक्ने भएकाले तत्काल सरकारले ठोस कदम चाल्नु पर्ने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्