एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार «

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार

तस्वीर प्रधानमन्त्रीको सचिवालय,रासस

नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।


सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकतालाई बदर गरी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लाई ब्युँताएपछि एमालेको २०७७ साल चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । तर सर्वोच्च अदालतले २०७८ जेठ २७ गते फैसला गर्दै सो महाधिवेशन कमिटीलाई वैधता नदिएका कारण एमालेले २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको नेकपा(एमाले)को केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको हो ।

बैठकले नेकपा(नेकपा)मा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणीचन्द्र थापा, विष्णु रिमाल, रघुविर महासेठ, रघुजी पन्त र बेदुराम भुसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीले एमालेले वैशाख १२ गते र जेठ १० गते पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावि भएको पनि बताए । बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान पनि गरेको छ ।
बैठकले भारतमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत गरेको छ । केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

सरकार जनतामा लोकप्रिय छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुँदै आएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षड्यन्त्र, तिकडमका साथ गुटबन्दिमा क्रियाशिल भएको जिकिर प्रधानमन्त्री ओलीले गरे ।
उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जाँदैछ भन्ने स्थिति सम्म श्रृजना भएको बताए । उनले पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधरण सदस्यता पनि नरहने गरि निष्कासन गरेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्