नेपाल–श्रीलंकाबीच आर्थिक सहकार्यमा जोड «

नेपाल–श्रीलंकाबीच आर्थिक सहकार्यमा जोड

नेपाल र श्रीलंकाका अधिकारीहरूले दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्न जोड दिएका छन् । काठमाडौंस्थित श्रीलंकाली राजदूतावास र नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एन्ड इन्ड्रष्टिजको संयुक्त आयोजनामा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भएको छलफलमा यस्तो जोड दिइएको हो ।
नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्षगाँठको अवसरमा नेपाली उद्यमी व्यवसायी र श्रीलंका राजदूतावासबीच कसरी दुई देशीय सम्बन्धलाई आर्थिक हिसावले घनिभूत पार्न सकिन्छ र लगानीलाई दुवैतर्फ कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । कूटनीतिक सम्बन्धलाई अझ गाढा बनाउँदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनुपर्छ भन्ने अभिप्रायले २००६ मा दुई देशबीच उद्योग वाणिज्य संघको रूपमा नेपाल–श्रीलंका चेम्वर अफ कर्मश एन्ड इन्डष्ट्रिज गठन भएको हो ।
कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत स्वर्ण परेराले नेपाल र श्रीलंकाबीचको ६१ औं वर्ष गाँठ प्रवेश गर्दै गर्दा दुईदेशीय आर्थिक सम्बन्धलाई थप बलियो पार्नुपर्ने बताइन् । उनले पर्यटनको प्रशस्त सम्भावना भए पनि दुई देशबीच सिधै उडान हुन नसक्दा वार्षिक ५० औं हजार पर्यटक भारत हुँदै लुम्बिनी जाने गरेको बताइन् । ७४ प्रतिशत वुद्धिष्ट धर्मावलम्बी भएको देश श्रीलंकाका नागरिक लुम्बिनीसम्म ल्याउन सके यसले पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
संघ गठनपछि द्विपक्षीय लगानी अभिवृद्धिका सन्दर्भमा दुवै देशका उद्यमी व्यवसायीबीच संयुक्त लगानी परियोजनामा काम अघि बढाइएको नेपाल–श्रीलंका उद्योग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताए । उनले नेपाल र श्रीलंकाबीच द्विपक्षीय संयुक्त लगानीका प्रशस्त सम्भावना रहेको बताए । खासगरी चिया, जडिबुटी, पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युत्लगायतका क्षेत्र रहेको उनले बताए । सन् १९९९ मा नै दुई देशबीच एग्रिमेन्ट अफ ओभिडेन्स अफ डवल ट्याग सेसन सम्पन्न भएकाले पनि नेपालमा श्रीलंकाको प्रत्यक्ष लगानीमा सहजता रहेको उनले बताए ।
नेपालमा श्रीलंकाबाट बैंक तथा बिमा क्षेत्रमा संयुक्त लगानी प्रवाह भएको देखिन्छ भने पछिल्लो समय ७ वटा परियोजनामा लगानी स्वीकृत भएको सरकारी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्