भेरी–बबईको विकास हेर्ने पर्यटकको घुइँचो «

भेरी–बबईको विकास हेर्ने पर्यटकको घुइँचो

बर्दिया- मुलुकमा पछिल्लो समय पर्यटन क्षेत्रमा नयाँनयाँ गन्तव्यहरू भेटिन थालेका छन् । प्राकृतिक स्रोतको धनी देश नेपालमा भएका प्राकृतिक मनोरम दृश्यावलोकन गर्न पर्यटकहरू आउनु नौलो कुरा होइन । तर पछिल्लो समय स्वदेशमा नविनतम सोचका साथ बनाइएका पूर्वाधार विकास हेर्न पर्यटक आकर्षित हुन थालेका छन् । जसले गर्दा अब बन्ने विकास नमूना र पर्यटनमैत्री पूर्वाधार हुने हो भने नेपालमा अब विकास पर्यटनको पनि सम्भावना छ भन्ने कुरा पुष्टि हुन थालेको छ । बर्दिया । मुलुकमा पछिल्लो समय पर्यटन क्षेत्रमा नयाँनयाँ गन्तव्यहरू भेटिन थालेका छन् । प्राकृतिक स्रोतको धनी देश नेपालमा भएका प्राकृतिक मनोरम दृश्यावलोकन गर्न पर्यटकहरू आउनु नौलो कुरा होइन । तर पछिल्लो समय स्वदेशमा नविनतम सोचका साथ बनाइएका पूर्वाधार विकास हेर्न पर्यटक आकर्षित हुन थालेका छन् । जसले गर्दा अब बन्ने विकास नमूना र पर्यटनमैत्री पूर्वाधार हुने हो भने नेपालमा अब विकास पर्यटनको पनि सम्भावना छ भन्ने कुरा पुष्टि हुन थालेको छ । यस्तै विकास पर्यटनको सम्भावना भेरी–बबई डाइभर्सन आयोजनामा देखिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् सुरुङ्ग खन्नु नेपालका लागि नयाँ प्रयोग मानिएको थियो । तर मेसिनको सफल परीक्षणले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा अघि बढाइएको यो आयोजना पूर्वाधार विकासको नमूनाको रुपमा अघि बढेको छ । मेसिनले कसरी सुरुङ्ग खन्ने गरेको छ भनेर हाल यो मेसिन हेर्न दैनिक सयौं आन्तरिक तथा भारतीय पर्यटकहरू आयोजना स्थल हात्तीखाल पुग्ने गरेका छन् । आयोजनाको स्थलगत अध्ययनका लागि दैनिक भिड लाग्न थालेपछि एकजना कर्मचारीलाई भिजिटर गाइडको रुपमा जिम्मेवारी दिइएको छ । ती कर्मचारीले त्यहाँ आउने पर्यटकलाई आयोजनाको बारेमा जानकारी दिनुका साथै सुरुङ्ग निर्माणस्थलसम्म अवलोकन गराउने गरेका छन् ।
आयोजनाको बारेमा बुझ्न खासगरी विभिन्न कार्यालयका कर्मचारी, मन्त्रालयका विशिष्ट व्यक्ति, विद्यालयका शिक्षक विद्यार्थी, कृषक समूह, सञ्चारकर्मी, बबईमा पिकनिक खान आउनेहरूलगायत इन्जिनियरिङ क्षेत्रका नेपाली र भारतीय पर्यटकहरू आउने गरेको भिजिटर गाइड गणेश श्रेष्ठको भनाइ छ । “स्थानीयका साथै सरकारका विशिष्ट व्यक्तिहरूदेखि विभिन्न आयोजनामा कार्यरत कर्मचारी, ईन्जिनियरलगायतले निकै चासो दिने गरेका छन्,” उनले भने ।दैनिक ५०÷६० जनादेखि ५÷६ सय जनासम्म यहाँ भइरहेको विकास हेर्न आउने गरेको बताउँदै उनले भ्रमणमा आउनेहरूलाई सुरक्षामा ध्यान दिएर अवलोकनका लागि सहयोग गर्ने गरेको जानकारी दिए । टीबिएम मेसिनका साथै यहाँ भएको विकास हेर्न आउनेहरूको भिडले यस क्षेत्रको पर्यटक प्रवद्र्धनमा समेत टेवा पुगेको छ । आयोजनाको सुरुङ्ग निर्माणस्थल यतिबेला पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको देख्न सकिन्छ । दैनिक रुपमा पर्यटकहरू आउन थालेपछि आयोजनाले पालैपालो आयोजनाको बारेमा जानकारी गराएर भिजिट गराउने व्यवस्था मिलाएको छ । टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् सुरुङ्ग खन्नु नेपालका लागि नयाँ प्रयोग भएकोले यहाँ आउने पर्यटकहरू निकै उत्साहित र जिज्ञासु भएर आयोजनाका गतिविधिबारे चासो राख्ने गरेको आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट कृष्णप्रसाद उपाध्यायले बताए । “यहाँ आउने पर्यटकको ध्यान मेसिनले सुरुङ्ग कसरी खन्छ भन्नेमै बढी केन्द्रित हुन्छ,” उनले भने, “आयोजना सम्बन्धी विभिन्न कुरामा उनीहरूको चासो रहन्छ ।” यो मेसिनको सफल परीक्षणले यहाँ पर्यटकको संख्यामा वृद्धि भएसँगै आयोजनाका कर्मचारीलगायत सबै कामदारहरू उत्साहित भएको उनको भनाइ छ । “यहाँ नयाँनयाँ विभिन्न पेशाका पर्यटकहरू आउन थालेपछि कर्मचारी, कामदारहरू पनि निकै उत्साहित हुने गरेका छन,” उनले भने । भेरी–बबई आयोजनाको सफल परीक्षणले नेपालमा विकास पर्यटनको सम्भावना बढाएको आयोजनाका निर्देशक सञ्जिव बरालको भनाइ छ । “टिबिएम प्रविधिवाट सुरुङ्ग खनेको नेपालको सन्दर्भमा पहिलो पटक भएकाले शुरुमा सफल हुने नहुनेमा दुविधा थियो,” उनले भने, “तर हामीले आशा गरेभन्दा दु्रत गतिमा काम भइरहेकोले नमूना कार्य हेर्न भन्दै पर्यटक यहाँ आउँदै गर्दा यसले विकास पर्यटनको सम्भावना पनि बढाएको छ ।”भेरी–बबईमा आउने पर्यटक बबई पुलपारी चेपाङ्गस्थित बर्दिया राष्ट्रिय निकुन्जको नयाँ प्रवेशद्वार खुलेसँगै निकुञ्ज अवलोकन गर्नसक्ने भएका छन् । त्यस्तै भेरी नदीको पानी अन्तरजलाधार जल स्थानान्तरणको माध्यमबाट बबई नदीमा स्थानान्तरण गरी ४० किलोमिटर तलसम्म बोटिङ्ग गर्न सकिने भएकोले आवश्यक पूर्वाधार निर्माण गर्न सके पर्यटनको नयाँ गन्तव्य बन्ने उनको भनाइ छ । “पर्यटन विकासमा पनि टेवा पु-याउन आगामी दिनमा आयोजनाबाट त्यस्ता कार्यक्रम समेट्ने प्रयासमा रहेको छु,” उनले भने ।देशमा भएका उर्जा, जलस्रोत, सिँचाइ, पूर्वाधार विकासलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगति निरासाजनक अवस्थामा रहेको बेला यो आयोजनको सफलतासँगै अब देशका अन्य सम्भावित आयोजनाहरू यसरी नै बनाउन सकिने विकासको मोडेल समेत तय भएको छ । भेरी–बबई सम्पन्न भएपछि सुनकोसी मरिन प्रोजेक्ट र यस्ता अन्य आयोजनामा समेत यसको प्रयोग गर्नुपर्दछ । त्यहाँ पनि पानी उपलब्ध गराउने, बिजुली निकाल्ने, वातावरणीय फाइदा लिने बहुउद्देश्यीय कामहरू गर्न सकेमा नेपालमा विकास पर्यटनको ठूलो सम्भावना रहेको निर्देशक बराल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्