धानको उत्पादकत्व बढाउन ध्यान देऊ «

धानको उत्पादकत्व बढाउन ध्यान देऊ

‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ गते नेपालमा १८औं राष्ट्रिय धान दिवस मनाइयो । देशैभर धान दिवस मनाइएका रंगीन चित्रहरुमा राजनीतिक दलका नेता, सामाजिक जीवनमा नाम चलेका व्यक्तित्वको सहभागिता पनि देखियो । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा नेपालमा चामलको आयात बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । धान दिवसको अघिल्लो दिन भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा ४८ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि ठूलो परिमाणमा चामल आयात हुने गरेको पाइन्छ । नेपालमा उत्पादन नबढ्नुमा समयमा नै मल, बीउ तथा सिँचाइको समस्या छ । किसानले समयमा नै मल नपाउनु नेपालमा अब कुनै ठूलो समाचार रहेन । बरु समयमा नै मल आयो कुनै वर्ष भने समाचार बन्ने देखियो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७ औं स्थानमा पर्छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको करिब एक तिहाइ योगदान छ भने धानको योगदान कृषिको कुल गार्हस्थ्य उत्पादनमा धानको सबैभन्दा बढी योगदान छ । त्यसैले पनि धान नेपालको प्रमुख बाली हो । कृषि मन्त्रालयले हरेक वर्ष धानको उत्पादन तथा उत्पादकत्व बढिरहेको तथ्यांक प्रस्तुत गर्दै गर्दा नेपालमा अझै पनि वार्षिक १० लाख टन धान अपुग रहेको छ, त्यो पनि सत्य हो ।
कृषि विभागले आर्थिक वर्ष २०७७÷०७८ मा ५६ लाख २१ हजार टन धान उत्पादन भएको जनाएको छ । कुल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार टन धान उत्पादन भएको विभागको भनाइ छ । तर, धान उत्पादनमा वृद्धि भए पनि नेपाल अझै चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाललाई कृषिप्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् हो । उत्पादन अनुपात घटेर आयात बढेको अवस्थामा धान दिवस मनाउँदे गर्दा बेला बेलामा सरकारले नेपाललाई धान–चामलमा आत्मनिर्भर बनाउने घोषणा गरेको पनि स्मरण गर्नु उपयुक्त हुन्छ । हरेक वर्षका बजेटमा कृषिलाई महत्व दिइएको तथा बजेट पनि अन्य क्षेत्रको तुलनामा राम्रै विनियोजन गरिएको बताइन्छ । तर, लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र समृद्धि हासिल गर्न कति सहयोग भयो त्यसको लेखाजोखा भने गरेको पाइन्न । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने लेखिएको छ । तर नेपालको खेती विशेषतः धान मौसमी प्रतिकूलता र अनुकूलताको बीचमा झुलिरहेको छ । राम्रो मनसुनी वर्ष भएको वर्ष धान उत्पादन बढ्छ र मनसुन नराम्रो भएको वर्ष घट्छ, यसमा सरकारको कुनै नीतिगत तथा प्रविधिको साथ छैन । चालू वर्ष पनि समयमै पानी परेकाले मुलुकभर २७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । तर करिब १५ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये असार १५ सम्ममा ३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णाली प्रदेश र कम २ नम्बर प्रदेशमा धान रोपाइँ भएको छ । यसैअनुसार यदि प्राकृतिक विपत्तिले असर नगरे धानको उत्पादन बढेर ६० लाख टन पुग्ने पनि प्रारम्भिक अनुमान छ । तर धानबालीको उत्पादकत्व मात्र बढाउने होइन, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि पनि स्पष्ट नीति नभएका कारण पनि समस्या छ ।

प्रतिक्रिया दिनुहोस्