पूरा भएन प्रधानमन्त्रीको बाचा «

पूरा भएन प्रधानमन्त्रीको बाचा

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका व्यक्तिका परिवारको लालनपोषण गर्ने वचन दिएको साढे दुई वर्ष हुन लागिसक्यो । प्रधानमन्त्री ओलीले पीडित परिवालाई भेटेरै यस्तो बचन दिएका भए पनि मृतकका परिवारले अझै राहत पाएका छैनन् ।
२०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए । प्रधानमन्त्री ओली र तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्रीहरुले मृतकका परिवारलाई भेटेर समवेदान अर्पण गर्दै मुलुकको विकास र समृद्धिका लागि खटिँदा मृत्युवरण गरेका राष्ट्रसेवकको परिवारलाई सरकारले सहयोग गर्ने वचन दिएका थिए । प्रधानमन्त्री ओलीले मृतकका बाल बच्चालाई लालनपोषण तथा शिक्षाको जिम्मा सरकारले लिने र आश्रित परिवारलाई जनही १० लाख रूपैयाँ दिन घोषणा पनि गरेका थिए । तर दुर्घटनाको २८ महिना बितिसक्दा पनि कुनै राहत तथा सुविधा नपाएको पीडितको गुनासो छ ।
प्रधानमन्त्री र सरकारका जिम्मेवार निकायका पदाधिकारीले मृतकका परिवारलाई सहयोग गर्ने जनाएपनि हालसम्म केही प्राप्त नभएको अधिकारीका आफन्त अर्जुन अधिकारीले बताए । उनले भने, “प्रधामन्त्री स्वयंले रविन्द्र अधिकारी प्रतिष्ठान बनाउनका लागि सरकारले १ करोड रूपैयाँ दिने बताएका थिए, तर के कारणले यो रोकियो हालसम्म जनाकारी छैन, हामीले आश्वासन मात्र पाएका छौं ।”
प्रधानमन्त्रीले आगामी दिनमा जीवनयापन गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हालसम्म कुनै सेवा नपाएको दुर्घटनमा मृत्यु भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमाहनिर्देशक वीरेन्द्र श्रेष्ठका छोरा अभिसेक श्रेष्ठले बताए । उनले भने, “हामीले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई तथा सरकारका अरु निकायमा पटक पटक पहल गर्दा पनि कुनै किसिमको सहयोग प्राप्त गर्न सकेनौं ।”
प्रधानमन्त्रीको वचन पूरा नभएपछि मृतक परिवार दुःखी बनेका छन् । प्रधानमन्त्री ओली, प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य हालका अर्थमन्त्री विष्णु पौडेल र नेता नारायणकाजी श्रेष्ठले पनि मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरेका परिवारलाई बुद्धनगरमा भेटेर सहयोगको प्रतिवद्धता जनाएको भएपनि हालसम्म कुनै सहयोग नपाएको मृतक घिमिरेकी श्रीमति शैलु घिमिरे विष्टले बताइन् । उनले भनिन्, “सहयोगको आस्वासन पाएपछि सरकारका निकायमा धाएको भएपनि हालसम्म केही प्राप्त भएन, ठूलाबडाको लागि सरकारले सहयोग गर्ने रहेछ, तर हामी साना पीडित पारिवारले केही पाएनौं ।”
ताप्लेजुङमा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन नागरिक उड्डयन मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । नागरिक उड्डयन प्राधिकरणले श्रेष्ठ र इन्जिनियर ध्रुवदास भोछिभोयाको परिवारलाई १० लाख रुपैयाँ र घिमिरेको परिवारलाई नेपाली सेनाले सहयोग गरेको थियो । प्रधानमन्त्री ओली स्वयंको जन्मस्थान तेहथुमको चुहानडाडामा विमानस्थल निर्माणका लागि मन्त्रीसहितको टोली गएको थियो । विमानस्थल निर्माणका लागि प्रधामन्त्रीको सन्देश बोकेर आएको सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भनेका थिए ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक एयर डाइनेस्टिीको कल साइन नाइन एन अल्फा माइक इन्डिया (एएमआई) हेलिकोप्टरमा सवार ७ जनाको दुर्घटामा परेर मृत्यु भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्रीका अंगरक्षक घिमिरेको निधन भएको थियो । तेह्रथुम विमानस्थलको निर्माणका लागि प्रारम्भिक स्थलगत अध्ययन गर्न मन्त्री अधिकारीसहित प्राधिकरणका उच्च अधिकारीहरु स्थलगत अध्ययन गरेर पाथिभरा दर्शन गरी काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्