पृथ्वीनारायण शाहलाई सराप्ने अपराधी हुन् : डा. केसी «

पृथ्वीनारायण शाहलाई सराप्ने अपराधी हुन् : डा. केसी

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गइरहेको टिप्पणी गरेका छन् । स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसीले यस्तो बताएका हुन् ।
केसीले भने, “अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली इतिहास लेखेर उनलाई बदनाम गरिँदैछ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा पिसाब फेर्ने काम भैरहेका छन् ।” उनले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको दाबी गरे । केसीले भने, “कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने होइन, त्यो समस्याको जड के हो भनेर त्यो जान्नुपर्छ ।”
तल्लो स्तरका मानिसहरुको गोलचक्रमा फसेको हुनाले राजसंस्थाको अस्तित्व धरापमा परेको बताउँदै डा.केसीले भने, “कमल थापाजस्ता मानिसहरु राजसंस्था भन्दैछन्, हिन्दूराष्ट्र भन्दैछन् । दोस्रो संविधानसभाको चुनावमा कमल थापाले गाउँमा हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा लिएर २४ कोटा पाए । त्यो मन्त्री पदको लागि बिक्री गरे । मन्त्री बनेपछि कमल थापा गणतन्त्र र संघीयताको धुरन्धर समर्थक बने । बाहिर आएपछि फेरि हिन्दू राज्य र राजसंस्था भन्दैछन्, के नैतिकता छ उनमा ? राजसंस्था भनेको देश जोडिएको संस्था हो, यसको गरिमा र महत्व छ ।”

प्रतिक्रिया दिनुहोस्