Logo

आहा रारा गोल्डकप फागुन ९ गतेदेखि

 गण्डकी प्रदेशको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आउँदो फागुन ९ गतेदेखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८ गतेसम्म पोखरामा हुने भएको सहारा क्लवद्वारा शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति-जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंगशालाको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लबका महासचिव विश्वराज बरालले बताए । यसअघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्डकप हुने भनी एन्फा केन्द्रले खेल तालिका सार्वजनिक गरेको थियो । पोखरामा अर्काे फुटबल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भएपछि क्लबले पुनः अर्को मितिमा उक्त प्रतियोगिता सञ्चालनको लागि मिति माग गरेको थियो ।
प्रतियोगितामा विदेशी, ‘ए’ डिभिजनका क्लबहरु, पूर्व र पश्चिम क्षेत्रका टिमहरु र आयोजक सहारा क्लब पोखरासहितका १२ टिमको सहभागिता हुने क्लबले जनाएको छ । विगत १७ वर्षदेखि निरन्तर सञ्चालन भएको उक्त प्रतियोगिताबाट क्लबले बचत हुन आएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । प्रतियोगितामा मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

पोखरा, १५ पुस

प्रतिक्रिया दिनुहोस्