कासमूमा अनुत्तीर्ण प्रजिअको वृत्तिविकासमा रोक «

कासमूमा अनुत्तीर्ण प्रजिअको वृत्तिविकासमा रोक

कार्यसम्पादन-मूल्यांकनमा अनुत्तीर्ण प्रमुख जिल्ला अधिकारीहरू बढुवा तथा वृत्तिविकासको अवसरबाट वञ्चत हुने भएका छन् । गृह मन्त्रालयले निर्धारण गरेको कार्यसम्पादन-मूल्यांकनमा अनुत्तीर्ण भए देशभरका प्रमुख जिल्ला अधिकारीहरु महत्वपूर्ण अवसरबाट वञ्चित हुने व्यवस्था गृह मन्त्रालयले गरेको हो ।
आइतबार गृह सचिव प्रेमकुमार राईले प्रजिअको कार्यसम्पादन-मूल्यांकन सम्बन्धि मापदण्ड समेटिएको शान्ति सुरक्षा–अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय तथा सहजिकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदा सार्वजनिक गरेका छन् ।
सोही मापदण्डभित्र रहेर आइतबार गृहसचिव राईले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमशः रामप्रसाद आचार्य, प्रेमराज जोशी र नाायणप्रसाद भट्टसँग कार्यसम्पादन–मूल्यांकन सम्झौता गरेका छन् । गृह मन्त्रालयका अनुसार अन्य जिल्लाका प्रजिअसँग पनि क्रमशः कासमू सम्झौता गरिने छ ।
गृह मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय सिमा जोडिएका जिल्लाहरुमा प्रजिअको मूल्यांकन १०२ र सिमा नजोडिएका जिल्लाहरुमा ९९ पूर्णाङ्कमा गरिनेछ ।
केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग सम्झौता गरिने गृहसचिव राईले जानकारी दिए । राईले सम्झौताले काम गर्ने प्रमुख जिल्ला अधिकारीको पहिचान गर्न र मूल्यांकन गर्न सहज हुने बताए । “सम्झौताले सबैमा काम गर्न थप उत्साह प्रदान गर्नेछ । प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरुलाई मेरो कामको मूल्यांकन भइरहेको छ भनेर पदीय जिम्मेवारी निर्वाह गर्नमा हौसला मिल्ने छ,” राईले भने ।
काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्न समेत सम्झौताले भूमिका खेल्ने गृहसचिव राईले बताए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयमा जिम्मेवारी सम्हालेसँगै गत वर्ष चैत १९ गते ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गरेका थिए । सोही कार्ययोजना अनुसार प्रशासन सुधारअन्तर्गत यो व्यवस्था लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सो कार्ययोजनाको बुँदा नं २६ मा ‘विभागिय प्रमुख र कार्यालय प्रमुख, निजामति र प्रहरी कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गर्न कार्यविवरण र सूचक तयार गरिने र कार्यसम्पादन करार गराई विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खटाउने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्