सनराइज बैंकद्वारा कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टरबाट उद्धार «

सनराइज बैंकद्वारा कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टरबाट उद्धार

सनराइज बैंकले कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वर्षदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकट्टेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकोप्टरको प्रयोग गरी काठमाडौंमा ल्याई उपचार गराएको हो ।
कच्ची बाटो र गम्भीर स्वास्थ्य अवस्था भएकाले एम्बुलेन्सबाट काठमाडौं ल्याउन सहज नभएपछि बैंकले हेलिकोप्टर व्यवस्था गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार सुरु गरेको जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएकाले अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमणबाट जोगिन र संक्रमितहरुलाई उपचार गर्न सहयोग गर्दै आएको बताए । कर्मचारीलाई कोभिडबाट जोगिन मास्क, सेनिटाइजर आदि सुरक्षा सामग्रीहरुको पर्याप्त व्यवस्था गरेको उनले जानकारी दिए । संक्रमण देखिएका कर्मचारीहरुको लागि उचित चिकित्सक परामर्श, मेन्टल स्ट्रेस म्यानेजमेन्ट प्रोग्राम तथा अस्पताल व्यवस्थापनमा पनि सहयोग गर्दै आएको उनले बताए ।
पहिलो र दोस्रो लहर गरेर सनराइज बैंकमा ४०० भन्दा बढी कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको थियो । हालसम्म बैंकले कर्मचारी सुरक्षाको लागि आर्थिक वर्ष २०७७÷०७८ मा मात्र करिब ९० लाख रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्