विमानस्थल चेक बाउन्स कान्डमा अख्तियारको छानबिन «

विमानस्थल चेक बाउन्स कान्डमा अख्तियारको छानबिन

तत्कालीन ६ महाप्रबन्धकलाई बयानमा बोलाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ वटा चेक बाउन्स भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । आयोगले आर्थिक वर्ष २०६९-७० यता जिम्मेवारी सम्हालेका ६ जना महाप्रबन्धकहरूलाई बयानका लागि बोलाएको छ ।
आयोगले पछिल्लो ६ वर्षमा २१ वटा चेक बाउन्स भएको विषयमा तत्कालीन महाप्रबन्धकहरू दिनेशप्रसाद श्रेष्ठ, ऋषिकेश शर्मा, वीरेन्द्र प्रसाद श्रेष्ठ, देवानन्द उपाध्यायलाई बयानका लागि बोलाएको हो । आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग समेत चेक कान्डको विषयमा जानकारी माग गरेको छ ।
पछिल्लो ६ वर्षदेखि विमानस्थलको हुन नसकेको बैंक रिकन्सिलेसन गत असारमा भएको थियो । जसमा एयर एसिया एक्सको जनरल सेल्स एजेन्ट्स श्री इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्सले बुझाएको २१ वटा चेक बाउन्स भएको विषय बाहिरिएको थियो । जीएसएले काटेका चेकमध्ये ८ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम बाउन्स भएको पाइएको थियो ।
नागरिक उड्डयन प्राधिकरण नेतृत्वले आर्थिक वर्ष २०६९-७० देखिको बैंक रिकन्सिलेसन अनुमति नदिँदा ६ वर्ष बैंक रिकन्सिलेसनसमेत हुन सकेको थिएन । बैंक रिकन्सिलेनसको लागि विमानस्थल कार्यालयले २०७३ फागुन ३० मा प्राधिकरण नेतृत्वलाई पत्र लेखेको थियो । तर, प्राधिकरण नेतृत्वले १० लाख रुपैयाँ बजेट विनियोजनको विषयमा झमेला गर्दा ८ करोड २८ रुपैयाँ भन्दा बढी रकम बराबरको हिसाव किताब हराएको थियो ।
प्राधिकरण नेतृत्वले २०७४-७५ मा आएर १० लाख बजेट बैंक रिकन्सिलेनलाई विनियोजन गरेपछिमात्र चार्टर्ड एकाउन्ट नियुक्त गरेर हिसाबकिताब छानबिन गरिएको थियो । सोही बैंक रिकन्सिलेनका क्रममा एयर एसियाको चेक बाउन्स भएको तथ्य पत्ता लागेको थियो । गत असार १६ गते बैंक रिकन्सिलेसनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीको संयोजकत्वमा बसेको बैठकले एयर एसिया एक्सको जिएसएले बाउन्स भएका चेकको दिनुपर्ने रकम ८ करोड २८ लाख २४ हजार २ सय ४४ रुपैयाँ बुझाउनुपर्ने निर्णय गरेको थियो । एयर एसिया एक्सले चेक बाउन्सको बाहेकनै १३ करोड रुपैयाँ अझै बक्यौता रहेको छ । एयर एसियाले विमानस्थललाई अझै पनि २० करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्नुपर्ने छ ।
“प्राधिकरण नेतृत्वलाई पटकपटक हामीले बैंक रिकन्सिलेनसको लागि बजेट माग गर्दा नदिएपछि धेरै वर्षदेखि हिसाव किताव गोलमाल भएको थियो,” तत्कालीन महाप्रबन्धक देवानन्द उपाध्यायले भने । कार्यालयले २०७३ मै हिसाबकिताब गर्नका लागि भन्दै प्राधिकरणमा बैंक रिकन्सिलेन गर्न माग गरेको तर अनुमति नदिँदा समस्या आएको उपाध्यायको दावी छ ।
नागरिक उड्डयन ऐन २०५३ को दफा २० मा महानिर्देशकको काम, कर्तव्य र अधिकारअन्तर्गत प्राधिकरणको समान्य प्रशासन र व्यवस्थापनको कार्यसञ्चालन तथा प्राधिकरण कोषको रेखदेख, नियन्त्रण र सम्पतिको व्यवस्थापन र स्याहार गर्ने जिम्वेवारी तोकिएको छ । सोही ऐनअनुसार पनि महानिर्देशकले प्राधिकणको कोषको हिसाव किताव चुस्तदुरुस्त राख्नुपर्ने थियो । तर, महाप्रबन्धक राजकुमार क्षेत्री भने बैंक रिकन्सिलेसनले केही समस्या पारेको भए पनि नेतृत्वमा बसेकाले बाउन्स भएको चेकको बारेमा जानकारी लिनुपर्ने दावी गर्दछन् ।

एयर एसिया  किन छोडियो ?
यसैबीच, बक्यौता असुल नगरी एयर एसिया एक्सलाई नेपाल छोड्न अनुमति दिएको भन्दै वर्तमान महाप्रबन्धक राजकुमार क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । एयर एसिया एक्सले गत असोज २७ देखि नेपाल उडान बन्द गरेको थियो । तर, विमानस्थल कार्यालयले बक्यौता असुल नगराइ नेपाल छोड्न दिएकोमा गम्भीर चासो दिएको हो । तर, महाप्रबन्धक क्षेत्रीले भने सोही समयमा आफू विदेश गएकोले रोक्न नसकेको बताए । “हामीलाई मलेसियाको नेपालस्थित दुतावासले बक्यौता उठान सहयोग गर्ने बचन दिएपछि छाडिदिएको हो,” क्षेत्रीले भने । उता क्षेत्रीकै संयोजकत्वमा गत असार १६ गते बसेको बैठकले बक्यौता असुल नगराइ नेपाल छोड्न नदिने निर्णय गरेको थियो । तर, क्षेत्रीले भने बाँकी रहेको १३ करोडको विषयमा दूतावाससँग कुुरा गर्न लागिरहेको बताए । यता चेक बाउन्सको विषयमा जीएसएले १ करोड १० लाख रुपैयाँ दिएको र बाँकी ७ करोड १८ लाख रुपैयाँ पनि दिने भन्दै आएको क्षेत्रीले जानकारी दिए । तर, पनि विमानस्थल कार्यालयले भने चेक बाउन्सको विषयमा नेपाल प्रहरीको सीआईबीमा उजुरी दिएको क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्