मनाङमा दुई सातादेखि विद्युत् अवरुद्ध «

मनाङमा दुई सातादेखि विद्युत् अवरुद्ध

लघुजलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङ दुई सातादेखि विद्युत्विहीन बनेको छ । अविरल वर्षासँगै असार १ गते आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा रहेका लघुजलविद्युत् आयोजना बगाएपछि मनाङको अधिकांश क्षेत्र विद्युत्विहीन बनेको हो ।


मनाङको नासोङ गाउँपालिका–१, तालगाउँबाहेक अन्यत्र सबै ठाउँमा विद्युत् अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । प्रजिअ लामिछानेका अनुसार मनाङको सदरमुकाम चामेसहित जिल्लाको ङिस्याङ गाउँपालिका, नार्फाभूमि गाउँपालिका र नासोङ गाउँपालिकाको अधिकाँश गाउँमा विद्युत् अवरुद्ध भएको छ ।


मस्र्याङ्दी नदी र अन्य सहायक खोलाहरूमा आएको बाढीका कारण ङिस्याङ गाउँपालिकाअन्तर्गतको सब्जे खोला लघुजलविद्युत् आयोजना बगाएपछि ङिस्याङ गाउँपालिकाको माथिल्लो मनाङ, हुम्डे, पिसाङलगायतका क्षेत्र विद्युत्विहीन बनेको हो । त्यसैगरी सदरमुकाम चामेमा रहेको लघुजलविद्युत् आयोजना पनि बाढीका कारण क्षति पुगेपछि चामे बजारसहित आसपासका सबै क्षेत्रमा विद्युत् अवरोध भएको छ ।
त्यस्तै नार्फाभूमि गाउँपालिकाअन्तर्गत नारगाउँमा रहेको लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि नार र फु गाउँमा विद्युत् अवरुद्ध भएको छ । चामे गाउँपालिकाअन्तर्गतकै स्यार्कु खोला लघुजलविद्युत आयोजना पनि बाढीले बगाएपछि तिमाङ, दानाक्युलगायतका गाउँ विद्युत्विहीन बनेका छन् । नासोङ गाउँपालिकाअन्तर्गत खोत्रो खोलोमा रहेको अर्को लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याउँदा धारापानीलगायतका गाउँमा विद्युत् अवरुद्ध भएको हो ।


जिल्लाका अधिकाँश ठाउँमा विद्युत् अवरुद्ध भएसँगै मनाङको जनजीवन कष्टकर हुँदै गएको छ । निरन्तर वर्षा र बाढीको प्रभाव परिरहेका बेला विद्युत्समेत अवरुद्ध हुँदा स्थानीयले मोबाइलसमेत चार्ज गर्न नपाएको र सञ्चार सम्पर्कमा समस्या भएको बताएका छन् ।
विद्युत् अवरोधकै कारण प्रशासन कार्यालयलगायत सरकारी तथा गैरसकारी कार्यालयमा पनि समस्या भएको प्रजिअ लामिछानेले बताए । विद्युत् लाइन नहुँदा प्रशासनिक काम कारबाही पनि हस्तलिखित गर्दै आएको प्रजिअ लामिछानेको भनाइ छ ।

जिल्लाका केही व्यक्तिले मोबाइल चार्जका लागि सोलार सिस्टमको व्यवस्था गरे पनि मनाङको मौसम सफा नहुँदा निकै समस्या भएको प्रजिअ लामिछानेले बताए ।
लघुजलविद्युत्कै भरमा रहँदै आएको मनाङमा केही महिनाअघि मात्रै केन्द्रीय प्रसारणलाइन पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमार्फत सदरमुकाम चामेसम्म विद्युत् सेवा उपलब्ध गराए पनि बाढी र पहिरोले संरचनामा क्षति पु¥याउँदा हाल मनाङ विद्युत्विहीन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्