खोटाङका भूकम्पपीडित आवास अनुदान पाउनबाट वञ्चित

खोटाङका भूकम्पपीडित आवास अनुदान पाउनबाट वञ्चित भएका छन् । प्राविधिक समस्याले गर्दा जिल्लाका भूकम्पपीडित आवास अनुदानवापतको पहिलो किस्ताको रकम लिनबाट वञ्चित भएका हुन् ।
जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवारलाई आवास अनुदानवापतको पहिलो किस्ता लिनबाट समेत वञ्चित गराइएको छ । विदेशमा रहेका घरमुलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकालका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्नेलगायतका समस्याका कारण भूकम्पपीडित परिवारले हालसम्म आवास अनुदानवापतको पहिलो किस्ता पाउन सकेका छैनन् ।
कुल लाभग्राहीमध्ये हालसम्म ८ हजार ६२ घर परिवारलाई प्रतिपरिवार ५० हजारका दरले ४० करोड ३१ लाख आवास अनुदान वितरण गरिसकिएको भए पनि विभिन्न प्राविधिक समस्याका कारण बाँकी लाभग्राहीलाई अनुदान वितरण गर्न नसकिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । “लाभग्राही विदेशमा रहेको, मृत्यु भएको र अशक्त भएको अवस्थामा निजको नजिकको हकदारले रकम पाउने व्यवस्थाका लागि स्पष्ट नीति छैन,” संयोजक चाम्लिङले भने, “लाभग्राही बाबुआमा र नजिकको हकदार नभएको अवस्थामा उसका नाबालकलाई भुक्तानी दिन सकिने नसकिने भन्ने स्पष्ट व्यवस्था नहुँदा कतिपय लाभग्राहीले अनुदान पाउन सकेका छैनन् ।”
भूकम्प गएको दुई वर्षपछि खोटाङमा जेठ १९ गतेदेखि भूकम्पीय आवास पुनर्निर्माणका लागि आवास अनुदान वितरण सुरु गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको अनुदान सम्झौताअनुसार सम्झौतामा नाम उल्लेख भएका व्यक्तिको नाममा बैंकमा रकम जम्मा हुने र आवश्यक कागजातसहित सम्बन्धित व्यक्ति आएमात्र रकम निकाल्न मिल्ने व्यवस्था छ । तर, आवास अनुदान सम्झौतामा नाम उल्लेख भएका सम्बन्धित व्यक्ति आएमात्र बैंकले निकासा दिने भएकाले कतिपय परिवारलाई आवास अनुदान उपलव्ध गराउन अप्ठ्यारो परिरहेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजन बिसीले जानकारी दिए । “जसको नाममा आवास अनुदान सम्झौता गरिएको छ, रकम लिन उही व्यक्ति आउनु पर्ने हुन्छ,” समन्वय अधिकारी बिसीले भने, “सम्झौतापछि विदेश गएका, विदेशमा रहेकै घरमुलीको नाममा सम्झौता गरिएका लाभग्राहीलाई आवास अनुदान पाउन अप्ठ्यारो परिरहेको छ ।”
सम्झौतामा नाम उल्लेख भएका कतिपय भूकम्पपीडित वृद्धवृद्धावस्था भएका कारण बैंकसम्म आउन नसक्ने अवस्थाका छन् । त्यस्ता अशक्त भूकम्पपीडितलाई समेत आवास अनुदान लिन सकस परिरहेको छ । आवास अनुदान निकाल्नका लागि सम्बन्धित व्यक्ति नै चाहिने विषयमा पूर्वजानकारी नभएकाले विदेशमा रहेका श्रीमान्को नाममा सम्झौता गर्दा अनुदान झिक्न झन्झट बेहोर्नु परेको खार्मीकी भूकम्पपीडित कृष्णकुमारीले बताइन् । सम्बन्धित व्यक्ति नहुँदा आवास अनुदान पाउन समस्या झेलिरहेका कतिपय भूकम्पपीडितलाई वडा कार्यालय र जिल्ला समन्वय समितिको सिफारिसमा प्राधिकरणबाट परिवारकै सदस्यको नाममा सम्झौता नामसारी गरेर अनुदान दिलाउने प्रक्रिया थालिए पनि प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।
सम्झौताका कारण अनुदान पाउन नसकेका भूकम्पपीडितको नामावली सच्याउन प्राधिकरणसमक्ष सिफारिस गरिएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रविकिरण आचार्यले बताए । “वडा कार्यालयको सिफारिसमा जिल्ला समन्वय समितिकातर्फबाट सम्झौता संशोधन गर्न पठाइसकेका छौं,” आचार्यले भने, “प्राधिकरणबाट सच्चिएर आएपछि त्यस्ता परिवारले अनुदान पाउँछन् ।”
भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये खोटाङमा सबैभन्दा बढी आवास अनुदान वितरण भएको दाबी गरिएको छ । लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डीपीसीको काम सकिएपछि दोस्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेस्रो किस्तावापत ७५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलब्ध गराइने जनाइएको छ ।