राष्ट्रियसभा उपाध्यक्षद्वारा महिला सांसदहरूसँग छलफल «

राष्ट्रियसभा उपाध्यक्षद्वारा महिला सांसदहरूसँग छलफल

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसद अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय सभाका महिला सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेकी थिइन् । राष्ट्रिय सभाको अधिवेशन सुुरु हुनु दुई दिनअघि मंगलबार सिंहदरबारमा उपाध्यक्ष दाहालले महिला सांसदहरूसँग छलफल गरेकी हुन् ।


उक्त अवसरमा राष्ट्रिय सभा अधिवेशनको प्रभावकारिता बढाउन महिला सांसदहरूले खेल्नुपर्ने भूमिका, कोभिड–१९ को महामारीले पारेको असर, महिलामैत्री कानुनहरूको कार्यान्वयनको अवस्था र महिला सांसदहरूले गर्न सक्ने पहलकदमी लगायतका विषयमा छलफल गरिएको थियो ।


छलफलमा उपाध्यक्ष दहालले राष्ट्रियसभा अधिवेशनलाई प्रभावकारी बनाउन महिला सांसदहरूको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि बैठकमा महिला सांसदहरूले समसामयिक विषयसँगै महिलासँग जोडिएका मुद्दाहरू सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा महिला सांसदहरूले राजनीतिक खिचातानीबाट बाहिर निस्किएर कोभिड महामारी र त्यसबाट लामो समय लकडाउन हुँदा महिलामा परेको असर, प्राकृतिक विपद्बाट सिर्जित समस्या, महिलामैत्री कानून कार्यान्वयनका लागि दबाब र निगरानी गर्नुपर्ने लगायतका विषयमा साझा मञ्च बनाएर जानुपर्नेमा जोड दिएका थिए । महिला सांसदहरूले कोभिडका साथै महिला स्वास्थ्य संवेदनशीलताको ख्याल गर्दै हरेक प्रदेशमा प्रसूति अस्पतालहरूको स्थापना गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका थिए ।
संविधानसभाका सदस्यहरूले निकै मेहनत गरेर महिलामैत्री कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै सांसदहरूले महिलामैत्री कानुन कार्यान्वयनको अवस्था भने निकै फितलो र कमजोर रहेको बताएका थिए । महिला पुरुषबीच हुने विभेदको अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टीलगायतका सवालमा संविधानमा राम्रो व्यवस्था गरिएको भए पनि व्यवहारमा लागू हुन नसकेको महिला सांसदहरूको भनाई थियो ।


अहिले पनि समान काममा महिला भएकै कारण पुरुषभन्दा कम पारिश्रमिक हुनु, पैत्रिक सम्पत्तिमा समान अधिकार नहुनु, बलात्कार, हत्या हिंसाका घटनामा महिलाहरू पीडित हुनुजस्ता घटना न्यूनीकरण नहुनु दुःखद भएको सांसदहरूको भनाई थियो।
छलफलमा राष्ट्रियसभा सदस्यहरू अनिता देवकोटा, प्रमिलाकुमारी, भगवती न्यौपाने, कविता बोगटी, विमला राई पौडेल, सुमित्रा बिसी, बिना पोखरेल, कोमल ओली, इन्दिरादेवी गौतम, तुलसा कुमारी दाहाल, नैनकला ओझा र शान्तिकुमारी जिसी सहभागी थिए ।
उक्त कार्यक्रममा पूर्वउपसभामुख तथा निवर्तमान मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे पनि सहभागी थिए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तुम्बाहाङ्फेले महिलामैत्री कानुन निर्माणसँगै कार्यान्वयनका लागि ऐन, नियमावलीहरू तीव्र रुपमा बनाइरहेको बताए । आफू कानुनमन्त्रीको जिम्मेवारीमा रहँदा विभिन्न नियमावलीहरू निर्माण गरेर ऐन कार्यान्वयनका लागि पहलकदमी लिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्