अभिमान सिंह फाउण्डेसनले ७ वटै प्रदेशमा २ सय बेडको अस्पताल स्थापना गर्ने «

अभिमान सिंह फाउण्डेसनले ७ वटै प्रदेशमा २ सय बेडको अस्पताल स्थापना गर्ने

अभिमान सिंह फाउण्डेसनले गरिब, असहायहरूको उपचारको लागि सातवटै प्रदेशमा २ सय बेड क्षमताको अभिमान सिंह सामुदायिक अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै, काठमाडौंको टोखामा भने आगामी एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउण्डेसनले जनाएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर फाउण्डेसनले ७ वटै प्रदेशमा अस्पताल र अक्सिजन प्लान्ट स्थापना गर्नका लागि करिब ५ अर्ब ३८ करोडको लागत अनुमान पनि सुनाएको छ । अस्पताल निर्माण कार्य सुरु गर्नको लागि कम्तिमा पनि एक वर्ष समय लाग्ने संस्थाले जनाएको छ । तर, अक्सिजन प्लान्ट भने एक महिनाभित्रै सुरु गरिने जनाइएको छ ।
कोभिड महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको भन्दै अब अक्सिजनको अभावमा कोही पनि नेपालीले ज्यान गुमाउन नपरोस भनेर तत्काल काठमाडौंको टोखा नगरपालिका, वडा नम्बर ३ टोखामा अभिमान सिंह मेडिकल अक्सिजन उद्योग सञ्चालन गर्ने जनाएको छ । उक्त उद्योगबाट उत्पादित अक्सिजन भने सुस्तमनस्थिति, अपाङ्गता भएकाहरू, सञ्चारकर्मी, गरिब, कृषक परिवारलगायत लक्षित वर्गहरूलाई निःशुल्क वितरण गर्ने जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेसनका सञ्चालक उपसमितिका संयोजक रविन्द्र दाहालले सातवटै प्रदेशमा निर्माण गरिने अस्पतालको लागि र अक्सिजन उद्योग सञ्चालनको लागि भारतको आरटीआई पब्लिक च्यारिटी ट्रष्टले भने १ अर्ब ६० करोड दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।
सुस्तःमनस्थिति भएका बालबालिका, अशक्त÷अपांग, सञ्चारकर्मीहरू, गरिब, कृषक परिवार, द्वन्द्वपीडित परिवारलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने बताए । उनले भने, ‘अक्सिजन प्लान्ट तयार गरेर कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण बढेको खण्डमा लक्षित वर्गहरूलाई अक्सिजन निःशुल्क वितरण गनछौं ।’
कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष सुदीपमान सिंह बस्नेतले प्रदेश न १ मा मोरङ, प्रदेश न.२ मा सिराहा, बाग्मति प्रदेशमा काठमाडौं, गण्डकी प्रदेशमा स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीमा अक्सिजन उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनले अन्तर्राट्रियस्तरमा युवाहरू खडा गरेर संगठन बनाउने योजना रहेको पनि बताए ।
त्यस्तै, कोरिया–नेपालमैत्री समाजको संयोजक जगदीश महरले हाल अक्सिजन उद्योग काठमाडौंको टोखा नगरपालिका–३ मा सञ्चालनको तयारी गरेको बताए । उनले १० वर्षभित्र ७ प्रदेशमा अस्पताल निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘लक्षित वर्गहरूलाई अस्पतालबाट सुलभ र शल्यक्रियाको चार्जमा निःशुल्क उपचार गर्नेछौं ।’
फाउण्डेसनकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले श्रमिक भिसामा विदेश गएका, अपांग, अशक्त परिवारलाई अक्सिजन प्लान्ट तयार गरेर आवश्यकतानुसार अक्सिजन दिने बताइन् ।
संस्थाले युवाहरूलाई लागुऔषध दुव्र्यसनमा नलाग्नका लागि चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । फाउण्डेशनको सामुदायिक अस्पतालको निर्माण गरी पछाडि परेका समुदाय, वर्ग तथा सामुदायिक हस्पिटल संचालन गरी पछाडि परेका समुदाय, वर्ग तथा जातजातिहरूको स्वास्थ्यको स्तरमा बृद्धि गर्ने उद्देश्य छ ।
साथै संस्थाले पछाडि परेका समुदाय, वर्ग तथा जातजातिको स्वास्थ्यको स्तरमा बृद्धि गर्न सकेसम्म निःशुल्क वा कमभन्दा कम शुल्कमा छिटो र स्तरिय मेडिकल अक्सिजनको आपूर्ति गर्ने लक्ष्य राखेको छ ।
सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा स्तर उठाउने र पछाडी परेका वर्गको स्तरमा बृद्धि गर्न आवश्यक पहल चाल्दै आएको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्