किर्ते कागजात तयार पारी सवारी कारोबार गर्ने पक्राउ «

किर्ते कागजात तयार पारी सवारी कारोबार गर्ने पक्राउ

महानरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ ।


महानरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारी साधका नक्कली सवारी दर्ता किताब समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो । ग.३ च. १४६२ र प्रदेश ३– ०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरू भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरू तयार गरी कारोबार गर्ने कमल बाबु पुरी भनिने लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए । त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरबन घर भई काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ ।
निरौलाको कोठाबाट विभिन्न व्यक्तिहरूको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरू, होलो ग्राम, लाईसेन्स, राहदानी लगायत सरकारी लिखितहरूसमेत बरामद भएको महाशाखा प्रमुख खापुङले बताए । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए ।

प्रतिक्रिया दिनुहोस्