तेस्रो लहरमा सचेत रहन विज्ञको सुझाव
नौ हजार बालबालिका कोरोना संक्रमित
कोरोना संक्रमणका कारण हालसम्म करिब ९ हजार बालबालिका संक्रमित भएको पाइएको छ । हाल बालबालिकामा हुने संक्रमणदर र तेस्रो लहरमा बालबालिका प्रभावित हुने सरकारी अनुमान अनुसार तत्काल सचेत हुनुपर्ने अवस्था देखिएको विज्ञको भनाइ छ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको जनाएको छ । परिषदले २ सयभन्दा बढी बालबालिका अभिभावकले कोरोनाका कारण आमाबुबा समेत गुमाएको समेत पाइएको जनाएको छ । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले अब संक्रमणबाट बालबालिकालाई जोगाउन केन्द्रित हुने पर्ने बेला आएको जनाउँदै यसको तयारीका लागि सरकारले अस्पतालका बालबालिकाका लागि विशेष व्यवस्था गरी युनिट तयार समेत गरिरहेको बताए ।
सरकारले नै कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका प्रभावित हुने जनाइरहेका बेला यसको प्रतिकार्यमा लाग्नु पर्ने बेला आएको अधिकारकर्मीको भनाइ छ । संक्रमणका बेला लकडाउनमा कानुन विपरित बालबालिकाहरुलाई प्रयोग गरी बालगृह संचालकहरुले अवैध तरिकाले पैसा उठाएको पाइएको परिषदको भनाइ छ । परिषदले चालु आवको हालसम्म ८ हजार ७ सय ९३ जना बालबालिकालाई सहयोग उद्धार, पुनस्र्थापना र अन्य सहयोग गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सम्ममा सडक बालबालिका नरहने लक्ष्य अघि सारेपछि परिषदले सोही अनुसार काम अघि बढाएको जनाएको छ ।