पुनर्निर्माण प्राधिकरणको ३ वर्ष गुनासो सुन्दै, लाभग्राही थप्दै «

पुनर्निर्माण प्राधिकरणको ३ वर्ष गुनासो सुन्दै, लाभग्राही थप्दै

२०७२ सालको भूकम्पपछि सरकारले स्थापना गरेको पुनर्निर्माण प्राधिकरणले तीन वर्ष पूरा गरेको छ । तर, यस अवधिमा प्राधिकरणले पुुनर्निर्माणमा उल्लेख्य प्रगति भने गर्न सकेको देखिँदैन । लाभग्राहीको गुनासो सुन्ने र उनीहरूको पुनःसर्भेक्षण तथा नतिजा प्रकाशनमै प्राधिकरण अल्झिएको छ ।
प्राधिकरणले विभिन्न चरणमा गरेको सर्भेक्षणपछि लाभग्राहीका सूचीमा राखी अनुदान दिइरहेको भए पनि गुनासो आउने क्रम भने अझै रोकिएको छैन । आवास पुनर्निर्माणतर्फ छनोट भएका लाभग्राही संख्याकै हाराहारीमा मकवानपुरमा गुनासो पनि परेको छ । गुनासो गर्नेमा आफ्नो घर क्षति भएता पनि लाभग्राहीको सूचीमा नराखिएको भन्ने भूकम्पपीडित बढी रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । मकवानपुर जिल्लामा कुल ९० हजार ९ सय ९४ घर सर्भेक्षण गरिएकोमा हालसम्म ३३ हजार ९ सय ७४ लाभग्राही पहिचान भएको छ । लाभग्राही थपिने क्रम भने अझै जारी छ । सर्भेक्षणमा छुट भएकाले गुनासो फाराम भरी पुनः जाँचका लागि माग गर्नसक्ने प्रावधानअनुसार हजारौं भूकम्पपीडितले गुनासो फाराम भरेका छन् ।
मकवानपुरमा हालसम्म २३ हजार ९ सय ६१ परिवार भूकम्पपीडितले गुनासो दर्ता गराएका छन् । त्यसमध्ये सर्वेक्षण गर्न छुटेको र पुन जाँच गर्नुपर्ने लाभग्राहीको संख्या १९ हजार २ सय ६२ रहेको छ । १९ हजारमध्ये १७ हजार १ सय ३९ को मात्र हालसम्म पुनः जाँच गरिएको छ । जाँच भएका मध्ये १४ हजार ८ सय ९५ परिवारको गुनासो सम्बोधन भएको छ । जसमध्ये ९ हजार ६ सय ४० जना लाभग्राहीमा कायम भएका छन् । गुनासो गर्नेमध्ये दुई हजार २ सय ४४ गुनासोकर्ताको गुनासो सम्बोधन हुन सकेको छैन । ५ हजार ९ सय ८४ परिवारको पुनः सर्वेक्षण गर्न बाँकी रहेको छ । केही समयमा नै इन्जिनियरहरु खटिएर पुनः सर्वेक्षण गर्ने जिल्ला आयोजना कार्यान्वयन ईकाई हेटौंडाका प्रमुख इन्जिनियर रबिन पाठकले जानकारी दिए ।
मकवानपुरमा हालसम्म पहिचान भएका लाभग्राहीमध्ये २६ हजार ५सय १८ परिवारले मात्र घर निर्माणको लागि सम्झौता गरेका छन् । जसमा प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ लैजानेको संख्या २५ हजार ७ सय ९७ रहेको छ । त्यस्तै १८ हजार ३ सय १८ लाभग्राहीले दोस्रो किस्ताको एक लाख रुपैयाँ लगेका छन् भने ११ हजार ८ सय ५३ लाभग्राहीले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन ईकाईले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म मकवानपुरमा ३३ प्रतिशत मात्र घर निर्माण सम्पन्न भएका छन् । ३३ हजारभन्दा बढी लाभग्राही पहिचान भएको मकवानपुरमा हालसम्म जम्मा ११ हजार ७५ वटा मात्र घर निर्माण बनेको तथ्याङ्क छ । घर प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको संख्या मकवानपुरमा ११ हजार ६ सय ३५ रहे पनि हालसम्म ४ हजार ४ सय ३५ ले मात्र सम्झौता गरेका छन् । प्रबलीकरणकोे लागि दुई किस्तामा १ लाख पाउने प्रावधान राखिएकोमा प्रथम किस्ताबापतको ५० हजार लिनेको संख्या ४ हजार दुई सय २५ रहेको छ । तर, उनीहरु कसैले पनि दोस्रो किस्ताको रकम भने पाएका छैनन् । पहिलो किस्ताको रकम लगेर घर प्रबलीकरण नगर्ने तथा प्रबलीकरण गरे पनि मापदण्ड नपुगेकाले दोस्रो किस्ता भुक्तानी हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख सोमराज तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्