हुलाकी सडक मुआब्जा विवादमा सहमति «

हुलाकी सडक मुआब्जा विवादमा सहमति

नेपालगन्ज-बाँकेमा निर्माणाधीन हुलाकी सडकको मुआब्जाको विषयमा देखिएको वर्षौंदेखिको विवादमा सर्वपक्षीय सहमति भएको छ । नेपालगन्जदेखि कट्कुर्इंयासम्मको सो सडक राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियामा सडक नक्सांकन र मुआब्जा विवादका कारण निर्माणकार्य लामो समयदेखि अवरुद्ध भएको थियो ।
विवादमा सहमति जुटेपछि अब सडक निर्माणमा तीव्रता आउने निर्माण कम्पनीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा गरिएको सर्वपक्षीय बैठकमा भएको सहमतिपछि निर्माणकार्यले गति लिने जनाइएको छ । सडकको अन्य भागमा पीच समेतको काम सुरु हुँदा मुआब्जा र नक्सांकनमा भएको विवादका कारण सो क्षेत्रमा निर्माण रोकिएको थियो ।
बाँके क्षेत्र नं १ का प्रदेशसभा सदस्य कृष्णा केसीले नक्सांकन विवादलाई सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “उत्तरतर्फ (सडक नक्सामा) परेको जग्गा व्यक्तिकै नाममा फिर्ताको पहल अघि बढाइने छ । त्यसको पहल मैले गर्ने छु ।” नेपालगन्ज उप–महानगरका उपप्रमुख उमा थापामगर, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख कृष्णनाथ ओझा, नरैनापुर वडा नं ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्य समेतको उपस्थितिमा मुआब्जा विवादमा सहमति कायम गरिएको छ ।
“हाल चालू सडकलाई नै कायम राख्ने गरी निर्माणकार्यलाई अघि बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको (व्यक्तिगत) जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालू सडकमा पर्ने जग्गाको मुआव्जा ( १० मिटर) दिने कुरामा लिखित सहमति कायम गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
नेपाल सरकारकै लगानीमा हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माणकार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहे पनि पप्पु कन्ट्रक्सनले सो ठेक्का ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।
मटेहीयामा हुलाकी सडक उत्तरतर्फकि दक्षिणतर्फ भन्ने सवालसँगै जग्गा फिर्ता र मुआव्जा लगायतका विषयमा जग्गाधनी बीच नै अन्योलता र विवाद रहँदै आएको थियो । हाल चालू हुलाकी सडक खण्डभन्दा फरक सर्भे (उत्तर) र नापी भएपछि उत्पन्न विवाद बढन गई २०७५ वैशाखदेखि सडकको निर्माणकार्य नै अवरोध भएकोले आफूहरूलाई असहजता भएको गणपति कन्ट्रक्सनका फिल्ड इन्चार्ज इन्द्र केसीले बताए ।
यसैबीच नेपालगन्जबाट सुरु गरिएको सो सडक कालोपत्रे गर्ने कार्य भने सुचारु रहेको फिल्ड इन्चार्ज केसीले बताएका छन् । उनले भने, “हुलाकी सडकका बारेमा धेरै कुरा नकारात्मक रूपमा प्रचार गरिएका छन्, सो सडकका बारेमा बाहिर ल्याइएका सबै कुरा सत्य छैनन् ।

प्रतिक्रिया दिनुहोस्