वेदकोटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्ने «

वेदकोटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्ने

कञ्चनपुर-कञ्चनपुरको वेदकोट नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउन लागेको छ । वेदकोट नगरपालिका–६ सिसैयामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियमको निर्माणकार्य सुरु गरिएको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले बताए ।
नगरपालिकाले जग्गाको नाप जाँच गरी सीमांकन छुट्याएर शनिबारदेखि कामको थालनी गरेको हो । यस पटक नगरपालिकाले स्टेडियमको भौतिक पूर्वाधार निर्माण गर्ने जनाएको छ । स्टेडियमका लागि नगरपालिकासँग पर्याप्त बजेट नहुदा संघ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए । उनले भने, “रेखांकन गरेर पर्खाल लगाउने काम सुरु भएको छ, हामीले चालू आर्थिक वर्षमा क्रिकेट स्टेडियमको भौतीक पूर्वाधार निर्माण गर्नका लागि ४५ लाख बजेट छुट्याएका छौं ।” स्टेडियमका लागि ७५ मिटर फिल्ड गोलाकार गरिएको छ । नगरस्तरमै क्रिकेट स्टेडियम बन्ने भएपछि स्थानीय खुसी भएका छन् ।
वेदकोट नगरपालिकाले नगर विकासका लागि ५० शैयाको नगर अस्पताल, कभर्डहल, क्रिकेट स्टेडियम, वेदकोट चक्रपथ, पुस्तकालय, महिला सेभ हाउसलगायतका योजनाको कार्य अगाडि बढाएको छ । नगर अस्पतालको डीपीआर निर्माण र पुस्तकालय स्थापना भएको छ भने कभर्डहल, वेदकोट चक्रपथ बन्ने क्रममा छन् । नगरपालिकाले शिवलिंगेश्वर–लिप्ना–वेदकोट ताल–लिङ्गा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । नगरपालिकाले केबुलकार निर्माण र सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने जनाएको छ ।

राष्ट्रिय खेलाडीको परिवारलाई कर छुट
नगर प्रमुख अशोककुमार चन्दले वेदकोट नगरपालिकामा बसोबास गर्ने राष्ट्रिय खेलाडीको परिवारलाई कर छुट दिने बताए । उनले राष्ट्रिय खेलाडीको परिवारलाई नगरपालिकामा लाग्ने सम्पूर्ण किसिमका कर छुट दिइने बताए । उनले भने, “नेपाल सरकारले आयोजना गरेका खेलमा राष्ट्रिय पदक प्राप्त गर्ने र अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई कर छुट दिइने छ ।” यसका लागि नगरपालिकाले नाम संकलन गरिरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्