कृषि क्षेत्रमा नवज्ञान प्रयोगको परिदृश्य «

कृषि क्षेत्रमा नवज्ञान प्रयोगको परिदृश्य

रायन र ग्रसले कृषिसम्बन्धी नवज्ञानको प्रसार कसरी गर्न सकिन्छ भन्नेबारे सन् १९३८ मा आवामा मकैको ठिमाहा जातको बीउ र अन्य किसानहरूमाझ कसरी पुग्यो भन्ने सम्बन्धमा समाजशास्त्रीय अध्ययन गरे । उनीहरूले कृषकहरूसँगको अन्तर्वार्ता र कृषि फर्मको अवलोकनलाई अनुसन्धानको प्रमुख आौजार बनाए । यसैबाट नवज्ञानको प्रसारसम्बन्धी अवधारणा जन्मन पुग्यो अनि ज्ञानको प्रसार माथि व्यापक छलफल हुने सुअवसर पायो ।
ग्रामीण समाजशास्त्रका प्राध्यापक ई.एम. रोजर्सले सन् १९६२ मा डिफुजन अफ इनोभेसन पुस्तकमार्फत नवज्ञानकोे प्रसारसम्वन्धी सिद्धान्त सार्वजनिक गरे । यो सिद्धान्त आमसञ्चारमाध्यमबाट सम्प्रेषित सन्देश ग्रहणबाट व्यक्तिले नयाँ विचारधारा, प्रविधिलगायतका कुराहरू सिक्ने अवसर पाउँछ भन्ने अवधारणामा आधारित छ । यसले कसरी, किन र कुन दरमा प्राविधिक ज्ञानहरू अन्य किसानहरूसमक्ष पुग्छ भन्ने विषयलाई उच्च महत्व दिएको छ । कुनै ज्ञान, जानकारी वा शिक्षाप्रद सामग्री सञ्चारमाध्यमबाट दिएर मात्र पुग्दैन, त्यसलाई समाजका सदस्यहरूले आत्मसात् गर्न पनि तयार हुनुपर्छ ।
रोजर्स नवज्ञान प्रसारमा मतनिर्माता वा बुजु्रकवर्गको भूमिका अधिक रहने धारणा राख्छन् । यो कुरा केही हदसम्म नेपाली समाजमा पनि लागू हुन्छ । निरक्षर समुदाय र पुरातन सोच भएका समाजमा ती मतनिर्माताहरू प्रभावशाली गनिन पुग्छन् । सर्वसाधारण कृषकहरूले आमसञ्चारका माध्यमबाट दिएका सन्देशहरू सीधै बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्दैनन् र यस्तो समाजमा मतनिर्माताको उच्च महŒव रहन्छ । तर, साक्षरता र सञ्चार माध्यमको पहुँच बढिरहेको तथ्यलाई ध्यानमा राख्दा मत निर्माताहरू मात्र मिडिया सन्देशका विश्लेषणकर्ता होइनन् । रोजर्सको सिद्धान्तको प्रयोग एसिया, अफ्रिका र ल्याटिन अमेरिकाजस्ता मुलुकहरूमा कृषि विकास, स्वास्थ्य र परिवार नियोजनजस्ता विषयहरूमा महत्वपूर्ण जानकारी जनसाधारणमा पु¥याउने कामका लागि प्रयोग भइरहेको पाइन्छ । त्यसैले उनको यो सिद्धान्त कृषि विज्ञान, सञ्चार, स्वास्थ्य, समाजशास्त्र र प्रविधिका क्षेत्रहरूमा समेत प्रयोग हुन्छ ।
रोजर्सको मतमा सञ्चार प्रक्रियामा सहभागीहरूमध्ये एकले सन्देश तयार पार्ने, वितरण गर्ने र अन्ततोगत्वा उनीहरूमा आपसी समझदारी सिर्जना गर्छ । सञ्चारको पश्चिमेली यो मान्यता समझदारीमा मात्र सीमित हुनु हुँदैन । उनका अनुसार नवज्ञान, सञ्चारमाध्यमहरू, समय (टाइमिङ) र सामाजिक प्रणाली गरी चार तŒवहरूमार्फत प्रसार हुन्छ । कुनै पनि नयाँ ज्ञान, प्रविधि अन्य माध्यमहरूबाट प्रसार गर्नुभन्दा पनि सञ्चारमाध्यमबाट दिइँदा त्यसलाई आत्मसात् गर्न सजिलो र प्रभावकारी हुने सञ्चारविद्हरू र मनोवैज्ञानिकहरू बताउँछन् । प्रसिद्ध सञ्चारविद् डेनिस
मक्याइलले पनि नवज्ञानको प्रचारप्रसार कृषिक्षेत्रमा मात्र होइन; स्वास्थ्य, सामाजिक र राजनीतिक जीवनमा पनि उत्तिकै उपयोगी हुने धारणा राखेका छन् । उनीभन्दा अघिका प्रसिद्ध सञ्चारविद् विल्वरस्राम पनि आमसञ्चारमाध्यमले नवज्ञानको प्रसारमा विशेष भूमिका खेल्ने भन्दै नयाँ विचार एवं ज्ञान उत्तरबाट दक्षिण र दक्षिणवाट सहरी क्षेत्र साथै सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा पु¥याउने माध्यम आमसञ्चार माध्यम नै भएको प्रस्ट्याउँछन् ।
रोजर्सका अनुसार नवज्ञानको प्रसारमा चेतना, रुचि, मूल्यांकन, परीक्षण र आत्मसात् वा अस्वीकार गरी पाँच अवस्था रहेका छन् । पहिलो अवस्थामा आमसञ्चार माध्यमहरूले चेतना बढाउने काम गर्ने र तिनै चेतना एवं ज्ञानगुनका कुरा अन्तरवैयक्तिक सञ्चारका प्रक्रियाबाट समुदायमा जाने र त्यस्तो सन्देश दिनुमा आमसञ्चारमाध्यम बढी प्रभावशाली मानिन्छ । वास्तवमा मिडिया समाज परितर्वन गराउने शक्तिशाली औजार पनि हो । उनका अनुसार पुरानो समाजमा जतिबेला आमसञ्चारमाध्यमहरूको उपस्थिति थिएन त्यतिबेला एक मानिसले अर्को मानिसलाई भन्ने वा अन्तरवैयक्तिक सञ्चार प्रक्रियाद्वारा नवज्ञानको प्रसार हुने गथ्र्याे । तर, आजकाल यो कार्य आमसञ्चारका माध्यमबाट हुन्छ । यस सन्दर्भमा आमसञ्चारका प्राध्यापक डिफ्लेवरले भने आधुनिक समाजमा आमसञ्चारमाध्यमले छिटो र बृहद् मात्रामा सूचना उपलब्ध गराउने र सामाजिक परिवर्तनतर्फ प्रेरित गराउँछ भनेका छन् ।
किन र रोलेन्सले गरेको एक अध्ययनअनुसार कृषिक्षेत्रमा ज्ञानको प्रसारमा परिवर्तनउन्मुख हुने अग्रणी किसानको बुझाइस्तर र आर्थिक हैसियतले पनि कृषि ज्ञान प्रसारमा महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यसैगरी एल्टन र टिडिङले गरेको अर्को अध्ययनअनुसार उत्पादक कृषक, कृषि भूमिको आधार, बजारस्थिति, कृषि उत्पादनको विविधता, कृषिबजार वा बजारीकरण आदिलाई आधार मानी कृषि ज्ञानको प्रसार भए÷नभएको मूल्यांकन गर्न सकिन्छ । अर्काथरी सञ्चारविद् भने शैक्षिक कृषिप्रणाली, कृषकको सामाजिक पृष्ठभूमि र संगठनात्मक परिवर्तनले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्ने मत राख्छन् ।
कृषकलाई उन्नत बीउबिजन अनुसरण गर्न सक्ने बनाउन र उत्पादनमा वृद्धि गर्न कृषिसम्बन्धी ज्ञानको औचित्य र हामीले नलिए कसले लिने भन्ने कुरा मनन गर्न संज्ञानात्मक क्षमता अभिवृद्धि गर्नुपर्छ । यसका लागि रोजर्सकै सिद्धान्तलाई पालना गर्दै प्रयोग नगर्नेलाई प्रयोग गर्ने बनाउन उनीहरूमा चेतना जागृत गर्न आवश्यक हुन्छ । कृषकले कसैको लहैलहैमा लाग्नुभन्दा पनि प्राविधिक ज्ञान दिने व्यक्तिहरू, अग्रणी किसानहरू आदिबाट सिक्ने संस्कारको विकास गर्नुपर्छ । यसका अतिरिक्त सञ्चारमाध्यमलाई पनि निरन्तर प्रयोग गर्र्नुपर्ने हुन्छ । त्यसो त कृषि विज्ञको सहयोगमा आफूले खेती गर्दै सिकेका अनुभवलाई पनि आधार बनाउन सकिन्छ । साथै नयाँ कृषि उत्पादनलाई सीधै आत्मसात् गर्नेभन्दा पनि त्यसलाई परीक्षण गरेरमात्र अवलम्बन गर्नुपर्छ । यसको उदाहरण गत वर्ष तराईका किसानले कृषि विभागबाटै सिफारिस गरिएका उन्नत मकैको बीउ लगाए, तर धेरै उत्पादनको आशा गरेका किसानहरूले फल पाउन सकेनन् । ठूलो नोक्सानी बेहोर्नुप¥यो । सिफारिस गरेकै धान खेती गर्दा गेडा फल्नुपर्नेमा भूसैभूस फलेको अर्को घटना पनि छ । यसको मतलब ज्ञान प्रसार गरेर मात्र पनि हुँदैन, पटक–पटकको परीक्षणबिना कृषि विभागले उन्नत भनी सिफारिस गरेको मकैको बीउ लगाउँदा कृषकहरू मर्कामा परे । यसबाट के पाठ सिक्न सकिन्छ भन्दा ज्ञान प्रसार गरेर मात्र हँुदैन, त्यसलाई परीक्षण नगरी किसानमाझ पु¥याउँदा त्यो प्रत्युपादक पनि हुन सक्छ । हुन त सिद्धान्तकार रोजर्सका अनुसार कृषकले आफूमा निहित ज्ञानभन्दा पनि पछि पाएको ज्ञान सरल र उपयोगी ठहरिएमा कृषकले पुरानो ज्ञान छोड्छ र ऊ नयाँ ज्ञान लिन तयार हुन्छ । वास्तवमा नवज्ञान प्रसारको अन्तिम प्रतिफल भनेको आत्मसात्, कार्यान्वयन र सिकेको ज्ञानलार्ई संस्थागत गरिनु पनि हो ।
रोजर्सको नवज्ञानसम्बन्धी ढाँचा सबैभन्दा पहिले अमेरिकामा परीक्षण गरिएको थियो । यसबाट उनीहरूले आम्दानी र निर्णय प्रक्रियामा अघि बढ्ने मौका पाएको देखिन्छ । नाइजेरियन सरकारले समेत लामो समयसम्म उक्त कार्यक्रम प्रसार गरी महिला कृषकहरूलाई लाभान्वित बनाउने योजना लिएको हो । तसर्थ कृषि प्रसार सेवालाई विस्तार गरी नेपालको कृषि उत्पादनलाई पनि वृद्धि गर्न र नेपाली कृषकहरूलाई आधुनिकीकरणतर्फ लग्न विशेष प्रसार कार्यक्रम ल्याउनुपर्ने खाँचो देखिन्छ ।
मुलुकमा राजेगारी नभएर लाखौं युवा समुदाय बिदेसिनुपर्ने बाध्यतालाई कम गर्न र कृषिमा आधुनिकीकरण गरी वाञ्छित प्रतिफल हासिल गर्न कृषिसम्वन्धी नवज्ञानको सिद्धान्तलाई व्यवहारमा ल्याउन सके उत्तम हुने थियो । आर्थिक सर्वेक्षण २०७७÷७८ का अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २७ प्रतिशत छ भने ६० प्रतिशत जनसंख्या यसै क्षेत्रमा आधारित छन् । नेपालमा १ प्रतिशत युवाले पनि कृषिमा सपना देख्दैनन् । वर्षभर २१ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ भने १५ प्रतिशतले मात्र आधुनिक बीउबिजन प्रयोग गर्छन् । अधिकांश कृषकको खेती प्रणाली परम्परागत छ । हामीकहाँ कृषिलाई सम्मानित पेसाका रूपमा हेरिँदैन । किसानबाहेक कसैले पनि कृषिमा निरन्तरता दिन चाहँदैनन् । बजारीकरणको समस्या छ । कृषिमार्फत देशलाई उन्न्नति गर्ने हो भने यान्त्रीकरण हुनुपर्छ । किसानलाई प्रोत्साहन र कृषि बिचौलियामुक्त बनाउनुपर्छ । यसमा राज्यको दायित्व हुन्छ ।
बैमौसमी तरकारी, फलफूल खेती, माछापालन, कुखुरापालन र उन्नत खेतीलगायतका कृषि प्रणाली र फाइदा हुने फसल वा नगदे बाली एवं खेतीबालीबारे किसानहरूलाई ज्ञान दिनु आवश्यक हुन्छ । यस स्तम्भकारले सन् २०१५ मा नेपालको ग्रामीण क्षेत्रमा किसानहरूमा रेडियो कार्यक्रमको प्रभावलाई लिएर गरेको एक अध्ययनअनुसार रेडियोबाट प्रसारित कृषि कार्यक्रम सुन्ने किसानहरूमा कृषिसम्बन्धी चेतना बढी पाइएको र रेडियो कार्यक्रम नसुन्ने किसानहरूमा नपाइएको निष्कर्ष निकालेको छ । नियमित कृषि कार्यक्रम सुन्ने किसानहरूको संज्ञान, चेतना, दृष्टिकोण र व्यवहारमा धेरै फरक पाइएको छ । सञ्चारमाध्यमको प्रयोगबाट ग्रामीण जनताको जीवनस्तर उकास्न र विकासमा उनीहरूलाई परिचालन गर्न निकै सहज भएको अध्ययनले देखाएको छ । ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादकत्वमा वृद्धि ल्याउन र उनीहरूलाई उन्नत खेतीका नयाँ तरिका र प्रविधि सिकाउन रेडियो माध्यम उपयोगी देखिन्छ । त्यसो त कृषि कार्यक्रम निरन्तर रूपमा रेडियोबाट प्रसारण गर्न सके कृषकहरूको कृषिप्रति रहेको परम्परागत विश्वास र धारणामा परिवर्तन ल्याउन सकिन्छ । आमसञ्चारका माध्यमबाट पातलै रूपमा भने पनि प्रसारित कृषि कार्यक्रम प्रभावित भएर विदेश जाने मनस्थिति बनाएका युवाहरूसमेत कृषि व्यवसायमा रोज्न पुगेको र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझी कृषि पेसालाई रोजेको समाचारहरू हाम्रै सञ्चारमाध्यममा यदाकदा सम्प्रेषण भएको पाउँछौं । त्यसैले कृषिलाई विकास गर्ने राज्यको नीतिमा ग्रामीण सञ्चारलाई उपयुक्त रूपमा प्रयोग गर्ने र विशेष खालको रणनीति तयार पार्न ढिला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्