बारपाक सडक निर्माण सुस्त «

बारपाक सडक निर्माण सुस्त

गोरखा-गोरखा–बारपाक सडक निर्माणमा ढिलाइ गर्ने नागार्जुन–त्रिशूली जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । फरक फरक ठेकेदार कम्पनीमार्फत चार प्याकेजमा गोरखा–बारपाक सडक खण्डको काम थालेको एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले पहिलो खण्डको जिम्मा लिएको नागार्जुन त्रिशूली जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
सम्झौताअनुसार काम नगरी सम्पर्कमा समेत नरहेकाले नागार्जुनलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको कार्यालयका इन्जिनियर शंकर पौडेलले जानकारी दिए । “कार्यालयले नागार्जुनको मोबिलाइजेसन बैंक ग्यारेन्टी रोक्का गरेको छ,” उनले भने, “यो कालोसूचीमा राख्ने पहिलो प्रक्रिया हो ।” नागार्जुनले सो सडकको १२ किलोमिटरदेखि १७.५ किलोमिटर कालोपत्रेको ठेक्का लिएर २०७१ असार ३१ गतेदेखि काम थालेको थियो । गत चैतसम्म कालोपत्रे सक्नुपर्ने नागार्जुनले सम्झौता अवधिभर ७० प्रतिशतमात्रै काम सकेको छ । तर अहिलेसम्म ठेकेदार कम्पनीले काम अघि नबढाएको र म्याद थपका लागि समेत प्रस्ताव नगरेको इन्जिनियर पौडेलले जानकारी दिए । “नागार्जुनले गर्ने काममा अब ५ किलोमिटरमात्रै कालोपत्रे गर्न बाँकी छ,” उनले भने, “त्यसमा पनि बेस हालिसकेको छ, अब कालोपत्रे बिच्छ्याउने मात्रै काम हो, तर सामग्री नभएको भन्ने बहानामा उनीहरू सम्पर्कमा नै छैनन् ।” १० करोड रुपैयाँमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म ७ करोड रुपैयाँ भुक्तानी लगिसकेको कार्यालयले जनाएको छ ।
सो सडकको दोस्रो प्याकेजअन्तर्गत १७.५ देखि २२.५ किमिसम्मको सडक कालोपत्रेको जिम्मा पाएको कन्काई जेभीले हालसम्म ६० प्रतिशत काम सकेको छ । कन्काईले असारसम्ममा सम्झौताअनुसार कालोपत्रे गर्नुपर्छ । हालसम्मको कार्यप्रगति अनुसार कन्काईले निर्धारित समयमा काम सक्ने देखिएको इन्जिनियर पौडेलले जानकारी दिए । “एक वर्ष भयो कन्काईले काम थालेको,” उनले भने, “अहिले सडकका कटिङ सकेर सब बेस हालिसकेको अवस्था छ । यही गतिमा काम गरे ठेक्का अवधिमा सकिन्छ ।”
गोरखा बारपाक सडकको तेस्रो प्याकेजको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्शले निर्धारित समयमा काम नसकेर दोस्रो पटकसम्म ठेक्का अवधि थपेको छ । थपिएको म्यादअनुसार वैशाखसम्ममा २२ किलोमिटरदेखि ३० किलोमिटरसम्मको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म करिब ५० प्रतिशतमात्रै प्रगति देखिएको इन्जिनियर पौडेलले बताए । “यो खण्डमा वनका कारण पनि केही ढिलाइ भयो,” उनले भने, “वनको विवाद मिलाएका छौं, अब नाली बनाउन बाँकी छ । मुख्य काम धेरै सकिएको छ । अब आवश्यकता अनुसार निर्माण सामग्री पाए थपिएको समयमा काम सक्ने ठेकेदारको प्रतिबद्धता छ ।”
अन्तिम प्याकेजका रूपमा ३० देखि ४६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको रसुवा एलाइट जेभीले ५० प्रतिशतमात्र काम सकेको छ । निर्धारित समयमा काम नसकेपछि एक पटक थपिएको म्याद चैतसम्म छ । यस खण्डमा भौगोलिक हिसाबले पनि निर्माणका लागि कठिनाइ रहेकाले ढिलाइ भएको इन्जिनियर पौडेलले बताए । थपिएको समयमा काम सक्न ठेकेदार कम्पनीलाई सचेत बनाएको उनले जानकारी दिए ।
सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री अभाव हुन नदिन सम्बन्धित गाउँपालिकालाई कार्यालयले पत्राचार गरेको छ । गत असार मसान्तसम्म बारपाकसम्मको सडक कालोपत्रे सक्ने लक्ष्य भए पनि हालसम्म सो सडकमा समग्रमा ५० प्रतिशतमात्रै काम सकिएको एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्